नेकपाका कार्यकर्ता देखि पत्रकारसम्म निशानामा, खोजी खोजी पक्राउ

842
views

काठमाण्डो । चुनाव नजिकिदा नेकपाका कार्यकर्तालाई देशैभर धर्ना र गिरफ्तार गर्ने क्रम बढेको छ । प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन नजिकिँदै जाँदा विभिन्न जिल्लाबाट नेत्रविक्रम चन्द नेतृत्वको निकटका कार्यकर्ता एवं पत्रकारहरु गिरफ्तारको निशानामा परेका छन् ।


प्रहरीले दर्जनौँ विप्लवका नेतादेखि कार्यकर्ता ,विप्लव सम्बद्ध पत्रकारहरुलाई समेत नियन्त्रणमा लिएको छ । चुनाव विरोधी गतिविधिमा संलग्न रहेको भन्दै नेकपा लुम्बिनी ब्युरो सदस्य तथा नवलपरासी जिल्ला इन्चार्ज पदम केसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
गैंडाकोट नगरपालिका–१३ का केसीलाई सुनवल नगरपालिका–११ स्थित भुमहीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (परासी) प्रहरीले जनाएको छ ।
यस्तै, प्रहरीले बर्दघाट नगरपालिका–४ का बर्दघाट नगर कमिटी सदस्य मोहन सापकोटालाई पनि प्रहरीले पक्राउ गरेको जनाएको छ । पक्राउ परेका दुवैलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको प्रहरीले जानकारी दिएको छ ।
सल्यान कुमाखमालिका–४ जिमालीका जंगबहादुर चन्द, कुमाखमालिका–६ बडागाउका सहवीर नेपाली र बागचौर–३ खुमबहादुर वलीलाई प्रहरीले पक्राउ गरेकोे हो ।
चन्द र परियारलाई घरमै रहेको अवस्थामा पक्राउ गरेको र वलीलाई थारमारेमा रहेको होटलबाट पक्राउ गरिएको परिवारले जानकारी गराएको छ ।
चौरी देउराली गाउँपालिकाका डिल्लीप्रसाद दुलाल र भीमसेन गौतम तथा बनेपा–१४ का रामकुमार तामाङलाई प्रतिनिधिसभा र प्रदेशसभाका निर्वाचन बिथोल्न तयार पारिएका कागजपत्रसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
आज मात्रै निर्वाचन विरोधी क्रियाकलापमा संलग्न रहेको आरोपमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वका नेकपाका चारजना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलाम नगरपालिका–५ भोर्लेनीकी मुना भनिने वसुन्धरा कार्की, वडा नं–११ सोयाकका सञ्जिव फागो, वडा नं–१ साँखेजुङका विशाल राई र देउमाई नगरपालिका–८ जितपुरका मोहन बराल पक्राउ रहेका छन् । यस्तै, निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेका आरोपमा इटहरी प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वका नेकपाका एक जना कार्यकर्तालाई पक्राउ गरेको छ ।
इटहरीमा उपमहानगरपालिका–९ का ज्योति प्रसाईं पक्राउ परेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । यस्तै पर्वत भंगराका ढक बहादुर क्षेत्रीलाई घरमा काम गरिरहेका बेला प्रहरीले पक्राउ गरेको परिवारले जनाएको छ ।
यस्तै, नेत्रविक्रम चन्द नेतृत्वको नेकपानिकट क्रान्तिकारी पत्रकार संगठनका पत्रकारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रूपन्देहीबाट प्रकाशित हुने ‘गर्जन पोष्ट’ साप्ताहिकका सम्पादक प्रकाश डुम्रेलाई रूपन्देहीबाट गिरफ्तार गरेको छ ।
यस्तै, कालिकोटबाट प्रकाशित हुने ‘जनप्रभात’ साप्ताहिकका समाचार प्रमुख जगदिशनाथ योगी, सोही पत्रिकाका प्रकाशक सम्पादक कालीबहादुर महतारालाई गिरफ्तार गरेको छ ।
त्यसैगरी, ‘मध्याह्न’ दैनिकका पत्रकार दीपेश शाही, काठमाडौंबाट प्रकाशित हुने ‘हाम्रो जलजला’ मासिकका सम्पादक खेम थपलिया, काठमाडौंबाटै प्रकाशित हुने नेवारी पत्रिका
‘निहिगु ज्वजोलोप्पा’का सम्पादक जितेन्द्र महर्जनलाई पनि पक्राउ गरिएको छ । ‘प्युठान भिजन’ मासिक पत्रिकाका सम्पादक जयेश्वर आचार्य र कार्यकारी सम्पादक पदमप्रसाद पोख्रेललाई पनि गिरफ्तार गरेर हिरासतमा राखिएको जनाइएको छ ।