माओवादीको सशस्त्र संघर्ष सैद्धान्तिक भूल थियो–ओली

714
views

काठमाण्डौ, १५ मंसिर । पार्टी एकतासम्म गर्ने भन्दै माओवादी केन्द्रसँग तालमेल गरि वाम गठबन्धन बनाएका एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादीको सशस्त्र संघर्षलाई एउटा सैद्धान्तिक भूल भनेका छन् ।

आजको अन्नपूर्ण पोष्टसँगको विशेष कुराकानीमा ओलीले भनेका छन,‘ माओवादीहरूको सशस्त्र संघर्ष एउटा सैद्धान्तिक भूल थियो। राष्ट्रिय र अन्तर्रा्ष्ट्रिय परिस्थितिको त्रुटिपूर्ण विश्लेषणमा आधारित थियो । हामीले भुल्नु हुँदैन, त्यसबेला शान्तिपूर्ण संघर्षका बाटाहरू खुलै थिए । संवैधानिक बाटो खुला थियो । राजतन्त्र संवैधानिक भइसकेको थियो ।’

उनले माओवादी जनयुद्धभन्दा अगाडि निर्वाचनकै माध्यमबाट एमालेले सरकारको नेतृत्व गरिसकेको बताउँदै उनले भनेका छन,‘ गणतन्त्रवादी धारका मानिसहरू, थोरै संख्यामा भए पनि संसदमा पुगेर त्यसका लागि आवाज उठाइसकेको अवस्था थियो । माओवादी जनयुद्धभन्दा अगाडि निर्वाचनकै माध्यमबाट एमालेले सरकारको नेतृत्व गरिसकेको अवस्था थियो।’

यो कम्युनिस्टर वामपन्थी गठबन्धन केही पनि होइन
ओलीले अहिले अहिले एमाले र माओवादीपार्टीको गठबन्धन कम्युनिस्टरवामपन्थी गठबन्धन केही पनि नभएको बताएका छन् । ‘यो वस्तुतः ‘कम्युनिस्ट गठबन्धनु पनि होइन र यो ‘वामपन्थी गठबन्धनु पनि होइन,’ ओलीको भनाइ छ,‘कम्युनिस्ट हाम्रो पार्टीको नाम हो। एउटा सन्दर्भमा पार्टीका नामहरू राखिएका हुन्छन् ।’

कम्युनिस्ट पार्टीलाई तीन भागमा विभाजन गर्दै अहिले ओलीले अहिले नेपालमा अधिकांश पोलिटिकल कम्युनिस्ट मात्र भएको विश्लेषण सुनाए । ‘आइडियोलजिकल कम्युनिस्ट र पोलिटिकल कम्युनिस्ट। अहिलेका अधिकांश कम्युनिस्ट पोलिटिकल कम्युनिस्ट हुन्,’ उनको तर्क छ,‘ आवश्यकता, लाभ, फाइदा, विकास आदिका लागि कम्युनिस्ट भएकाहरू । अहिले नेपालमा अधिकांश पोलिटिकल कम्युनिस्ट छन् ।’

साम्यवाद एक सुन्दर कल्पना भएको भन्दै ओलीले अहिलेकै अवस्थामा त्यहाँ पुग्न असम्भव भएको पनि बताए । ‘‘साम्यवाद’ एक ज्यादै सुन्दर कल्पना हो, उच्चतम मानवीय समाजको सृजना गर्नका निम्ति गरिएको परिकल्पना हो ,’ उनले भने,‘ हाम्रो सरदर भाषामा राम राज्य हो । कल्पवृक्ष जस्तो । तर के अहिलेकै अवस्थामा त्यहाँ पुग्न सकिन्छ ? सकिँदैन ।’ नेपालखबरबाट