सरकार ! किन रोकिएन बम आतंक ?

766
views

मंसिर, १६ गते । मुलुक यतिवेला संविधान कार्यान्वयनका लागि महत्वपूर्ण खुड्किलो मानिएको प्रदेश र प्रतिनिधिसभाको निर्वाचन संघारमा होमिएको छ । पहिलो चरणको निर्वाचनअन्तर्गत हिमाली र पहाडी ३२ जिल्लामा १० मंसिरमै मतदान सम्पन्न भइसकेको छ । प्रतिनिधिसभाका ३७ र प्रदेश सभाका ७४ सांसद चयनका लागि जनमत मतपेटिकाभित्र पुगिसकेको छ, गणना सुरु हुन मात्र बाँकी छ ।

यसबीच दोस्रो चरणको निर्वाचन संघारमा आइसकेको छ । आगामी २१ मंसिरमा ४५ जिल्लामा हुने मतदानबाट प्रतिनिधिसभातर्फ १२८ र प्रदेशतर्फ २६५ सांसद चयन हुनेछ । त्यसैले राजनीतिक दल जोडतोडले प्रचारप्रसार गरिरहेका छन् । निर्वाचनपछि कसले बहुमत ल्याउला वा कुन दल सबैभन्दा ठूलो बन्ला भन्ने कौतुहलता आम मतदातामा देखिन्छ ।

तर, सिंगो मुलुक निर्वाचनमा होमिएका वेला निर्वाचन बिथोल्न हिंसात्मक गतिविधि पनि भइरहेका छन् । ठाउँठाउँमा बम विस्फोट भइरहेका छन् । उम्मेदवार र निर्वाचन प्रचारमा खटिएका कार्यकर्तालाई लक्षित गरी विद्युतीय धराप विस्फोट गराइएको छ ।

सरकारले हिंसात्मक गतिविधि सञ्चालन गरेको आशंकामा केहीलाई नियन्त्रणमा लिए पनि घटना न्युनिकरण भएको छैन । शुक्रबार मात्रै देशका विभिन्न ठाउँमा ठूलो मात्रामा विष्फोटक पदार्थ र हतियार फेला परेको छ ।

काठमाडौं ः प्रहरीले राजधानीको चन्द्रागिरि नगरपालिका –२ नागढुंगामा विष्फोटक पदार्थ फेला पा¥यो । चेकपोष्टमा सवारी साधन जाँच गर्नेक्रममा काँकडभिट्टाबाट काठमाडौँतर्फ आउँदै गरेको ना. ७ख १०५२ नम्बरको बसमा ठूलो परिमाणममा विष्फोटक पदार्थ फेला पारेको हो ।

सो बसबाट विष्फोटक पदार्थ बारूद १ सय ५४ ग्रामसहित नुवाकोटको तादी गाउँपालिका–४ का ३१ वर्षीय रामेश्वर रिजाललाई पक्राउ गरेको नागढुंगा प्रहरीले जनाएको छ । झोलामा लुकाई छिपाई विष्फोटक पदार्थ ल्याएको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

ललितपुर ः कुपन्डोलस्थित यूएन पार्कनजिकै शुक्रबार साँझ बम विस्फोट भएको छ । विष्फोटबाट मानवीय क्षति नभए पनि स्थानीयमा त्रास फैलिएको छ । कसले विष्फोट गराएको हो भन्ने खुलेको छैन । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अर्घाखाँची ः प्रहरीले सन्धिखर्क नगरपालिका –१ रातले बस्ने ६० वर्षीय शालिकराम खनाल भन्ने गोविन्द खनाललाई पक्राउ गरेको छ । घरमा खानतलासी गर्दा बाकसभित्र प्लाष्टिकले बेरेर लुकाई राखेको अवस्थामा एक थान कटुवा पेस्तोल र त्यसमा लाग्ने ७ राउन्ड गोली बरामद भएकाले खनाललाई फाउ गरेको प्रहरीको दावी छ ।

धादिङ ः धुनिबेसी नगरपालिका –७ नौबिसेमा शुक्रबार ठूलो परिमाणमा विस्फोटक पदार्थ प्रहरीको हात लागेको छ । काठमाडौं भित्र्याउने योजनासहित काँकडभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको ना. ७ख ४९७६ नम्बरको बसबाट प्रहरीले विस्फोटक पदार्थ बरामद गरेको हो । बसको पछाडीपट्टी डिकीमा लुकाएर ल्याइएको दुई लिटरको प्रेसरकुकर बम, एउटा सकेट बम, विस्फोटक पदार्थसहित प्रहरीले दुईजना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा भारत आसाम सिमलटापु घर बताउने २३ वर्षीय राजु विश्वास र भारत पश्चिमबंगाल सिलगढी घर बताउने ३० वर्षीय मोहमद फरमान अली छन् । अनुसन्धानका लागि प्रहरीले बसका चालकलाई पनि पक्राउ गरेको छ ।

सुनसरी ः धरान उपमहानगरपालिका–७ पानमारीका ४१ वर्षीय किशन श्रेष्ठ र २९ वर्षीय केवल कार्की पनि शुक्रबारै पक्राउ परेका छन् । कोठामा लुकाइ राखेको अवस्थामा पाँच थान सकेट बम बरामद भएको प्रहरीले जनाएको छ । उनको कोठाबाट १२ थान चक्लेट बम, चार थान आलु बम, चक्र बम सात थान, पटाका बम २ थान, अवैध लागूऔषध डाइलेक्स १५ बोतल, नगद एक लाख १३ हजार ६ सय ६५ रुपैयाँ, दुई सय भारतीय रूपैयाँ र मोवाइल दुईथान बरामद भएको प्रहरीले जनाएको छ । नयाँपत्रिका