पूर्वराज्यमन्त्री मोहनसिंह राठौर र पूर्व पिए झपट रावलको रोचक प्रतिस्पर्धा

1810
views

काठमाण्डौ, १६, मंसिर । पूर्व शिक्षा राज्यमन्त्री मोहनसिह राठौर अहिले कांग्रेसमा प्रवेश गरेर उम्मेदवार बनेका हुन् । यसअघि उनी एमालेबाट मन्त्री बनेका थिए । राठौरका प्रतिस्पर्धी झपट रावल भने राठौर मन्त्री हुँदा उनैका पिए थिए । राठौरले कैलाली निर्वाचन क्षेत्र नम्बर २ मा आफ्नै पूर्व पिएसँग चुनावी प्रतिस्पर्धा गर्दैछन् ।
एमाले परित्याग गरी कांग्रेसमा प्रवेश गरेका नेता राठौरलाई नेपाली कांग्रेसको संसदीय समितिको बैठकले प्रतिनिधिसभाका लागि कैलाली क्षेत्र नम्बर २ बाट टिकट दिने निर्णय गरेसँगै उहाँको प्रतिस्पर्धा आफ्नै पिएसँग हुने भएको हो ।
संविधानसभाको पहिलो चुनावअघि बनेको अन्तरिम सरकारमा राठौर शिक्षा राज्यमन्त्री भएका बेला अहिले वाम गठबन्धनबाट उम्मेदवार बनेका एमालेका केन्द्रीय सदस्य झपट रावल उहाँका पिए थिए ।
कांग्रेस उम्मेदवार राठौर र वाम गठबन्धनका उम्मेदवार रावलसँग एकसाथ गरिएको बहस कार्यक्रममा दुवै उम्मेदवारले चुनाव आफूले जित्ने दाबी गरे ।
राठौरले कैलालीमा विगतमा विकास निर्माण हुन नसकेको बताउँदै अब आफूले चुनाव जितेपछि जनताको चाहनाअनुसार विकास निर्माणका योजना अघि सार्ने बताए । सुदुर पश्चिमका जिल्लालाई राज्यले नै विकासका लागि प्राथमिकतामा नपारेको बताउँदै राठौरले अबका दिनमा सुदुरपश्चिम क्षेत्रको विकासका लागि आफू प्रतिवद्ध भएर लाग्ने बताए ।
अर्का उम्मेदवार रावलले भने राठौर सेवाका लागि नभै पदका लागि उम्मेदवार बनेको आरोप लगाए । पछिल्लो पाँच वर्षमा जनप्रतिनिधिको रुपमा रहँदा पनि राठौरले केही काम गर्न नसकेको आरोप रावलको छ ।
काम गर्न नसक्ने भएपछि राठौरले अब चुनावमा उम्मेदवार दिनुको कुनै अर्थ नहुने भन्दै रावलले बाटो छोड्न सुझाब दिए ।