उधौली तथा अन्तराष्ट्रिय अपाङ्ग दिवसमा राष्ट्रपतिको शुभकामना

774
views

काठमाण्डौ, १७ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले २६ औँ अन्तर्राष्ट्रिय अपांग दिवस एवं उधौलीका अवसरमा बेग्लाबेग्लै शुभकामना सन्देश जारी गरी सबैमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

‘सबैका लागि दिगो र समतामूलक समाजउन्मुख रुपान्तरण’ भन्ने विश्वव्यापी मूल नारा तथा ‘कोही पनि नछुटुन्, दिगो विकासको नारा ः अपाङ्गता मैत्री योजना कार्यान्वयनमा जुटौँ हामी सारा’ भन्ने राष्ट्रिय नाराका साथ मनाउन लागिएको २६औँ अन्तर्रा्ष्ट्रिय अपाङ्ग दिवसका अवसरमा अपाङ्गता भएका दाजुभाइ, दिदीबहिनी तथा यस क्षेत्रमा कार्यरत सबैमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

नेपालमा अपाङ्गता भएका व्यक्तिको अधिकार प्रवद्र्धनका लागि क्रमिकरुपमा विभिन्न काम भइरहेको बताउँदै उहाँले अपाङ्गता भएका व्यक्तिलाई दया र मायाको दृष्टिले भन्दापनि अधिकारमुखी दृष्टिकोणबाट हेर्दै विकासको मूल प्रवाहमा समावेश गरी आत्मनिर्भर बनाउँदै लैजानु आजको आवश्यकता भएको सन्देशमा उल्लेख गर्नुभएको छ ।

‘संयुक्त राष्ट्रसंघीय अपाङ्गतासम्बन्धी महासन्धिमा उल्लिखित अधिकार कार्यान्वयनका लागि नीति तथा कानून निर्माण गरी अपाङ्गता भएका व्यक्तिको शिक्षा, स्वास्थ्य, रोजगारी र पुनःस्थापनाका लागि सरकारी तथा गैरसरकारी क्षेत्रबाट विशेष पहल हुन जरुरी छ’– राष्ट्रपतिको सन्देशमा भनिएको छ ।

शिक्षा, स्वास्थ्य तथा रोजगारीमा समान पहुँच, अपाङ्गमैत्री संरचना, अपाङ्गमैत्री कानून, विशेष सामाजिक सुरक्षा, पुनःस्थापना, सामाजिक भेदभावबाट मुक्ति, निर्णय प्रक्रियामा अपाङ्गता भएका व्यक्तिको सहभागिताका विषयलाई आत्मसात् गरी स्रोत, साधनलगायत आवश्यक प्रबन्ध गर्दै क्रमशः कार्यान्वयनमा ध्यान केन्द्रित गर्नुपर्नेमा राष्ट्रपतिले जोड दिनुभएको छ ।

त्यसैगरी, नेपालका किरात जातिको महान् पर्व उधौलीको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण किरात समुदायका नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुस्वास्थ्य, सुख शान्ति, समृद्धि, आपसी सद्भाव, एकता, भाइचारा एवं उत्तरोत्तर प्रगतिका लागि राष्ट्रपति भण्डारीले शुभकामना व्यक्त गर्नुभएको छ ।

नेपालका विभिन्न जातजाति र समुदायले मनाउने चाडपर्वले नेपाललाई साझा फूलबारीका रुपमा शृङ्गार गर्दै आएका तथा यहाँ मनाउने उधौलीजस्ता चाडपर्वले हाम्रो भौगोलिक, धार्मिक, सांस्कृतिक जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचान कायम गर्नमा महत्वपूर्ण योगदान गरेका राष्ट्रपतिले बताउनुभएको छ ।