विन्टर ओलम्पिक खेल्नबाट रुसलाई प्रतिबन्ध

724
views

काठमाडौं, २०, मंसिर । रुसले अर्को वर्ष दक्षिण कोरियाको प्योङचाङमा हुने विन्टर ओलम्पिक खेल्न नपाउने भएको छ । अन्तर्रा्ष्ट्रिय ओलम्पिक कमिटि आईओसीको सोमबार राती स्विट्जरल्याण्डमा बसेको वैठकले रुसलाई विन्टर ओलम्पिक खेल्नबाट प्रतिबन्ध लगाएको हो ।

तर आफुलाई डोपिङ प्रकरणमा निर्दोष प्रमाणित गर्न सक्ने रुसी खेलाडीहरुले भने तटस्थ झण्डामुनी रहेर विन्टर ओलम्पिकमा प्रतिस्पर्धा गर्न पाउनेछन् । आईओसीको यो निर्णयको रुसमा ब्यापक आलोचना गरिएको छ ।
चार वर्षअघि रुसकै सोचीमा आयोजना गरिएको विन्टर ओलम्पिकको क्रममा रुसी खेलाडीलाई राज्यस्तरबाटै प्रतिबन्धित औषधि प्रयोग गराईएको र डोपिङ परिक्षणमा समेत प्रमाण नष्ट गरिएको पाइएपछि रुस आईओसीको प्रतिबन्धमा परेको थियो ।

त्यही कसूरमा रुसलाई गत वर्ष ब्राजिलमा सम्पन्न रियो ओलम्पिक खेल्नबाट समेत प्रतिबन्ध लगाईएको थियो । विन्टर ओलम्पिकको अर्को संस्करण दक्षिण कोरियाको प्योङचाङमा यही फेब्रुअरी ९ तारिखदेखि सुरु हुँदैछ ।