तीन लाख रुपैयाँ नगदसहित एमाले कार्यकर्ता पक्राउ

1180
views

वीरगञ्ज, २० मंसिर । आज पर्सा क्षेत्र नम्बर–३ बाट तीनलाख रुपैयाँ नगद तथा सूर्य चिह्नमा स्वस्तिक छाप लगाएका नमुना मतपत्रसहित एमालेका ३ जना कार्यकर्ता पक्राउ परेका छन् ।

निर्वाचन सुरक्षाका लागि गस्तीमा रहेको प्रहरी टोलीले बुधबार मध्याह्न उनीहरुलाई पक्राउ गरेको हो । वाम गठबन्धन पर्सा क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार राजकुमार गुप्ताका भाइ अशोक रौनियार, फूलकौलका वासुप्रसाद यादव र वृजेश पटेल पक्राउ परेका छन् ।

ना १ ह ९३३२ नम्बरको गाडीमा पोखरियातर्फ आइरहेका उनीहरुको साथबाट ३ लाख नगद र एमालेको सूर्य चिह्नमा स्वस्तिक छाप लगाइएका नमुना मतपत्र बरामद गरिएको पर्सा–३ का सुरक्षा इञ्चार्ज प्रहरी नायव उपरीक्षक डीडी पन्तले जानकारी दिए । पक्राउ परेका तीनै जनालाई आवश्यक अनुसन्धानका लागि हिरासतमा राखिएको छ ।

पर्साका मुख्य निर्वाचन अधिकृत नागेन्द्रलाल कर्णले अनुसन्धानपछि दोषी पाइए उम्मेदवारलाई नै कारबाही गर्ने बताए । यता एमालेले भने आफूहरुलाई विपक्षीले फसाएको आरोप लगाएको छ । धान बेचेर फर्किँदै गरेका व्यक्तिहरुलाई पक्राउ गरेर आफूहरुलाई फसाउन खोजिएको एमाले पर्साका संयोजक प्रभु हजाराको भनाई छ ।