सुर्खेतमा सुरक्षाकर्मीकै अगाडी स्थानीयले मतपेटिका जलाए

879
views

सुर्खेत, २० मंसिर । सुर्खेतको एक मतदान केन्द्रको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई स्कूलभित्रै थुनेर स्थानीयले मतपेटिका जलाएका छन् । सुर्खेतको बराह गाउँपालिकास्थित वडा नम्बर ३ मा रहेको भेरी मावि तरङ्गा मतदान केन्द्रको मतपेटिका कब्जा गरेर स्थानीयले जलाएका बताइएको छ ।

मंगलबार राति ११ बजेतिर मतदान अधिकृतसहित २१ जनाको टोलीलाई स्थानीयवासीले आफ्नो कब्जामा लिएका थिए । मतदान केन्द्रको सुरक्षार्थ खटिएका म्यादीसहित १६ जना प्रहरीलाई स्कूलकै भवनभित्र बन्द गरेर स्थानीयले बाहिरबाट ताला लगाईदिएका थिए भने अधिकृतसहित ५ जनाको सरकारी टोलीलाई आफ्नो नियन्त्रणमा लिएको स्थानीय बिकास बिकले बताए ।

मतपेटिका कब्जा गरेर जलाईसकेपछि नियन्त्रणमा लिइएका अधिकृतसहितको टोली र प्रहरीहरुलाई छोडिदिएको बिकले जानकारी दिए ।