बाम गठबन्धनलाई झट्काः यादवको उम्मेदवारी खारेज गर्ने निर्णय सर्वोच्चद्वारा सदर

700
views

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभातर्फ सप्तरीबाट उम्मेदवार उठेका वाम गठबन्धनका उम्मेदवार शिवपुजन यादवको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयलाई सदर गरेको छ । यादव सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ मा नेकपा (माओवादी केन्द्र) का तर्फबाट उम्मेदवार थिए । न्यायाधीशद्वय दीपकराज जोशी र डम्बरबहादुर शाहीको संयुक्त इजलासले यादवको उम्मेदवारी खारेज गर्ने आयोगको निर्णयलाई सदर गरेको हो ।
यादव कूटनीतिक राहदानी दुरुपयोगमा विशेष अदालतबाट दोषी ठहर भएकाले उनको उम्मेदवारी खारेजीको माग गर्दै उजुरी परेपछि आयोगले यही मंसिर ११ गते उम्मेदवारी खारेज गरेको थियो ।

सो उम्मेदवारी खारेजीका विरुद्ध अन्तरिम आदेश माग गर्दै यादवले यही मंसिर १२ गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए । यादवको मुद्दामा कारण देखाउ आदेश जारी गरी छलफलका लागि बुधबारलाई बोलाएको थियो ।
सर्लाही क्षेत्र नम्बर ४ मा वाम गठबन्धनका यादव, कांग्रेसका अमरेशकुमार सिंह र राजपा नेपालका राकेशकुमार मिश्रसहित १६ उम्मेदवार छन् । यी मध्ये १० जना स्वतन्त्र उम्मेदवार छन् ।