युनाइटेड र युभेन्ट्स नकआउट चरणमा च्याम्पियन्स लिग फुटबल

763
views

एजेन्सी र लन्डन । म्यानचेस्टर युनाइटेड, एफसी बासेल, एएस रोमा र युभेन्ट्स बुधबार बिहान खेलिएको खेलमा आआफ्ना प्रतिद्वन्द्वीलाई पाखा लगाउँदै युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको नकआउट चरणमा पुगेका छन् । इङ्लिस प्रिमियर लिग क्लब म्यान युनाइटेडले समूह ‘ए’ अन्तर्गतको आफ्नो अन्तिम खेलमा रुसी प्रतिद्वन्द्वी सीएसकेए मस्कोलाई २–१ गोलले हरायो ।
म्यान युनाइटेडको घरेलु मैदानमा खेलिएको उक्त खेलमा सुरुआती अग्रता भने मस्कोले लिएको थियो । पहिलो हाफको अन्तिम समयमा मस्कोका लागि भिटिन्होले गोल गरे । त्यसपछि दोस्रो हाफमा चार मिनेटको बीचमा लगातार दुई गोल फर्काउँदै म्यान युनाइटेडले नतिजालाई आफ्नो पक्षमा पा¥यो । म्यान युनाइटेडका लागि ६४औं मिनेटमा रोमेलु लुकाकु र ६६औं मिनेटमा मार्कुस रासफोर्डले एक-एक गोल गरे ।
समूह ‘ए’ बाट १५ अंकसहित म्यान युनाइटेड विजेता र बासेल उपविजेताका रूपमा नकआउट चरणमा पुगेका हुन् । बासेलले भने समूहगत चरणको आफ्नो अन्तिम खेलमा बेनफिकालाई उसैको मैदानमा २–० गोलले हराउँदै नकआउट चरणमा स्थान पक्का गरेको हो । बासेलका लागि मोहमद एल्युनोसी र दिमित्री ओबरलिनले एक÷एक गोल गरे ।
समूह ‘सी’ अन्तर्गतको खेलमा इटालियन क्लब रोमाले क्वाराबागलाई १–० गोलले हरायो । घरेलु मैदानमा रोमाका लागि एकमात्र गोल ५३औं मिनेटमा डिएगो पेरोट्टीले गरेका थिए । सोही समूहको अर्को खेलमा स्पेनिस क्लब एट्लेटिको म्याड्रिडले इङ्लिस क्लब चेल्सीलाई १–१ गोलको बराबरीमा रोक्यो । ५६औं मिनेटमा एट्लेटिकोका लागि सल निग्वेजले गोल गरे । ७५औं मिनेटमा एट्लेटिकोकै स्टेफन साभिचबाट आत्मघाती गोल भएपछि खेल बराबरीमा पुगेको थियो । उक्त समूहबाट ११ अंकसहित रोमा विजेता र समान अंक भएको चेल्सी उपविजेताका रूपमा नकआउट चरणमा पुग्न सफल भए ।
यसैगरी समूह ‘डी’ अन्तर्गतका खेलमा इटालियन क्लब युभेन्ट्सले ओलम्पियाकसलाई उसैको मैदानमा २–० गोलले हरायो । सोही समूहको अर्को खेलमा स्पेनिस क्लब बार्सिलोनाले घरेलु मैदानमा स्पोर्टिङ सीपीलाई पनि २–० गोलले नै पाखा लगायो । युभेन्ट्सका लागि हुवाँ क्वाड्राडो र फेड्रिको बेनार्डेस्चीले गोल गरे । अर्को खेलमा बार्सिलोनाका लागि फ्रान्सिस्को अल्कासेरले एक गोल गरे भने थप एक गोल स्पोर्टिङका जेरेमी म्याथ्युबाट आत्मघाती रूपमा भएको थियो । उक्त समूहबाट १४ अंकसहित बार्सिलोना विजेता र ११ अंकसहित युभेन्ट्स उपविजेताका रूपमा नकआउट चरणमा पुगे ।
समूह ‘बी’ अन्तर्गतको खेलमा जर्मन क्लब बायर्न म्युनिखले बलियो फ्रान्सेली प्रतिद्वन्द्वी पेरिस सेन्ट जर्मन (पीएसजी) लाई ३–१ गोलले हरायो । बायर्नका लागि कोरेन्टिन टोलिसोले दुई र रोबर्ट लेवान्डोवस्कीले एक गोल गरे । पीएसजीका लागि भने एकमात्र गोल किलियन एमबाप्पेले गरेका थिए । सोही समूहको अर्को खेलमा एन्डरलेच्टले सेल्टिकलाई उसैको मैदानमा १–० गोलले हरायो । उक्त समूहबाट १५ अंकसहित पीएसजी विजेता र समान अंक बटुलेको बायर्न म्युनिख उपविजेताका रूपमा नकआउट चरणमा पुगे ।
नकआउट चरणमा म्यानचेस्टर युनाइटेड (इङ्ल्यान्ड), एफसी बासेल (स्विट्जरल्यान्ड), पेरिस सेन्ट जर्मन (फ्रान्स), बायर्न म्युनिख (जर्मनी), एएस रोमा (इटाली), चेल्सी (इङ्ल्यान्ड), बार्सिलोना (स्पेन), युभेन्ट्स (इटाली)
म्याचेस्टर सिटी (इङ्ल्यान्ड), बेसिक्टस (टर्की), टोट्टनहाम (इङ्ल्यान्ड) र रियल म्याड्रिड (स्पेन) रहेका छन् ।