हुम्लामा हिमपात, किसान खुसी

1218
views

नवदृष्टि संवाददाता
सिमकोट, २६, मंसिर । हुम्लामा लामो समयदेखी पानी नपरेपछि भारी हिमपात हुने स्थानीयको पूर्वानुमान थियो । स्थानीयको अनुमानअनुसार नै हुम्लामा हिमपात भएको छ । हुम्लामा अहिले १ फिट भन्दा बढी हिउँ जमेको छ । हिमपातले जिल्ला सदरमुकाम त्यहाँको तापक्रम माइनसमा झरेको छ ।

उत्तरी क्षेत्रका लिमी, मुचु, खगालगाउँ, स्याँडा, हेप्क्का र बरगाउँ, सिमकोट लगायतका गाविसमा जाडो अत्यधिक बढेको छ । स्थानीयबासिन्दा घरबाहिर समेत निस्कन समस्या परेको छ । नाम्खा गाउँपालिकाका अनुसार मुचुमा झण्डै साढे २ फिट जति हिउँ जमेको छ ।

हिमपातले जनजीवन प्रभावित भएपनि किसान खुसी भएका छन् । किसानले बारीमा छरेको गहुँबाली उम्रन नसकिरहेको बेला हिमपातले खुसी बनाएको हो । जिल्लाको उत्तरी क्षेत्रमा हिमपात भएपनि दक्षिणी क्षेत्रमा भने पानी परेको अदानचुली गाउँपालिकाका अध्यक्ष दल फडेराले जानकारी दिए । हिमपातले अन्नबालीलाई निकै फाईदा गर्ने भएकै कारण किसानहरु खुसी भएका हुन् ।