काँग्रेसमा कोईराला परिवारबाटै नेतृत्वको खोजी

793
views

विराटनगर, २६, मंसिर नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पार्टीको केन्द्रीय समितिको बैठक तुरुन्त बोलाउन माग गरेका छन् । देशव्यापी रूपमा काङ्ग्रेस उम्मेदवारको पराजयका बारेमा विस्तृत छलफल र समीक्षा गर्दै भावी कार्य्दिशा तय गर्न केन्द्रीय समितिको बैठकको माग डा. कोइरालाले गरेका हुन् ।
‘मलाई देशभरिका साथीले विशेष महाधिवेशनबाट नेतृत्व परिवर्तन गरौँ भनिरहनु भएको छ’, कोइराला निवास विराटनगरमा कोइरालाको भनाई थियो । ‘तर यसको पनि विधि र प्रक्रिया हुन्छ । पहिले त केन्द्रीय समिति बस्नु प¥यो । केन्द्रीय समितिले महासमितिको बैठकको तय गर्छ । महासमितिको बैठक नभएको दुई वर्ष भइसकेको छ, त्यसै पनि गर्नैपर्छ ।

अब त झन् आवश्यक भइसकेको छ । त्यही महासमितिले महाधिवेशनको निर्णय गर्ने हो ।’ विशेष महाधिवेशन नगरेर अर्ली महाधिवेशनका रूपमा नियमित महाधिवेशन गरे पनि हुने राय प्रकट गर्दै कोइरालाले भने, ‘हतार गरेर हुन्न । आखिर जस्तो भएपनि महाधिवेशन गर्न एक वर्षको तयारी गर्नै पर्छ ।’
कारण हारको
चुनावमा आफ्नो र अन्य काङ्ग्रेस उम्मेदवारको पराजयको कारण खोतल्दै नेता शेखरले पहिलो समस्या पार्टीभित्र मौलाएको अनुशासनहीनता र अन्तरद्वन्द्व नै भएको स्पष्ट पारे ।‘हामीले कार्यकर्तालाई होइन, मतदातालाई क्रियाशील सदस्यता दिएछौँ’, उनको भनाई थियो, ‘अहिले हामीलाई अप्ठ्यारो पार्नेमध्ये धेरैजसो तिनै क्रियाशील सदस्य थिए ।’
‘मतदातालाई क्रियाशील दिएपछि क्षेत्रीय प्रतिनिधि वा बुथ सभापति उनीहरू नै चुनिए, जिल्ला समितिका सदस्य र पदाधिकारी उनीहरू नै छानिए । अनि महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य पनि उनीहरू नै भए ।’
कोइरालाको दुखेसो थियो, ‘यता चुनाव लागिसकेको छ, तटस्थ मतदाताका घरघरमा जानुपर्ने बेला छ, अर्कातिर विभिन्न पदमा चुनिएका उनै क्रियाशील सदस्यहरू उम्मेदवार मेरो घरमा किन आएन भनेर भाउ खोजेर बस्छन् । चुनावमा मेरो भूमिका के हो, म के गरौँ भनेर स्वतःस्फूर्त रूपमा आउनु पर्ने र खट्नु पर्ने साथीलाई नै फकाउनुपर्ने अवस्था भयो। आन्तरिक व्यवस्थापन गर्दागर्दै धेरै समय गयो ।’ ‘त्यसैले पहिलो शुद्धीकरण क्रियाशील सदस्यताबाटै गर्नुपर्छ’, उनको धारणा थियो, ‘अथवा क्रियाशील सदस्यभन्दा माथि अर्को तह बनाउन पनि सकिन्छ ।’ आफूलाई नियोजित रूपमा अन्तर्घात गरिएको प्रतिक्रिया व्यक्त गर्दै कोइरालाले भने, ‘प्रदेश सभाका मेरा दुबै उम्मेदवार एउटा ३ हजार र अर्को २ हजार मतले जित्नुभएको छ । मैले ६ सय ७५ मतले हारेको छु । यसैबाट स्पष्ट हुन्छ, यहाँ के समस्या छ । नेपाल भरको परिणाम आएपछि हेर्नुहोला, यस्तो क्षेत्र मोरङ ६ मात्र पाउनु हुनेछ ।’ उनले राजनीतिक रूपमा आफूले हारेको अनुभव नगरेको प्रतिक्रिया दिए ।
आफ्ना कमजोरी थिए
सरकारमा रहँदा वा नरहँदा पनि विगतमा काङ्ग्रेसको नेतृत्व तहले विभित्र क्षेत्रमा धेरै कमजोरी प्रदर्शन गरेको विषयले पनि चुनावलाई प्रभावित पारेको शेखरको टिप्पणी थियो । ‘हो, हाम्रो नेतृत्वमा धेरै कमजोरी थिए’, उनको विचार थियो, ‘त्यसैले चुनाव प्रचारका बेला हामी रक्षात्मक अवस्थामा रहनु र्पयो र वाम साथीहरू आक्रामक देखिए ।’
वाम गठबन्धन बलियो, लोकतान्त्रिक फितलो
केन्द्रीय सदस्य कोइरालाका अनुसार वाम गठबन्धनका तुलनामा लोकतान्त्रिक गठबन्धन फितलो सावित भएको छ । ‘हाम्रो गठबन्धन फितलो सावित भयो’, उनले भने, ‘हामीले महन्थजी र उपेन्द्रजीलाई जिताउन मात्र गठबन्धन गरेजस्तो भयो। हामीलाई केही फाइदा भएन् । मेरै क्षेत्रमा उपेन्द्रजी उम्मेदवार हुनुहुन्थ्यो । आखिर ५ हजार भोट त ल्याउनु भयो। मैले ६ सय ७५ ले हार्नुर्पयो ।’
गच्छदारसितको एकताको औचित्य भएन
नेपाली काङ्ग्रेसले नेपाल लोकतान्त्रिक फोरमसित गरेको एकता पनि औचित्यहीन भएको कोइरालाको प्रतिक्रिया थियो । ‘माथि–माथि नेता–नेता मिलेको देखियो तलतल ग्रास रुटमा मिलाउन सकिएन’, उनको कथन थियो, ‘चुनावका मुखमा एकता भयो । भर्खरै सकिएको स्थानीय तहको चुनावको तुष पनि गाउँठाउँमा सकिएको थिएन। त्यसैले यो एकताले हामीलाई केही प्रतिफल दिएन ।’
उग्र राष्ट्रवादको भ्रम चिर्न सकिएन
शेखरले नेकपा एमालेका अध्यक्ष केपी ओलीको नेतृत्वमा वाम गठबन्धनले उग्र राष्ट्रवादको भ्रम फैलाएको आरोप लगाए । ‘मधेस पनि नेपालमा नै पर्छ, त्यहाँका समस्या नेपालकै हुन् भनेर मैले भन्दा त्यसलाई भारतको एजेन्डा बोकेको आरोप लगाइयो’, डाक्टर कोइरालाको प्रश्न थियो, ‘ओलीजीले झापा, मोरङ र सुनसरीलाई विहार र युपीमा मिलाइदिने कुरा गर्नुभयो । यो कस्तो राष्ट्रवाद थियो ?’ २०६३ सालमा अङ्गीकृत नागरिकता पाएकाहरूलाई अहिले पनि राज्यले स्वीकार नगरेको चर्चा गर्दै उनले त्यसबाट विभिन्न विश्वविद्यालय र मेडिकल कलेजमा पढ्ने विद्यार्थीको भविष्य जोखिममा भएको बताए । उनको आक्रोश थियो, ‘त्यस बेला वितरित ३० लाखमध्ये १७ लाख नागरिकता त पहाडे मूलकै नागरिकले लिएका छन् । समस्या कहीँ छैन । तर यो मुद्दा पनि हामीले चुनावमा बुलन्द पार्न सकेनौँ ।’
उद्देश्य अधिनायकवाद र एकदलीय व्यवस्था नै हो
ओलीजीले जति स्पष्टीकरण दिए पनि प्रचण्डको वाम गठबन्धनको उद्देश्य र मिसन कम्युनिस्ट पार्टीको एकदलीय शासन व्यवस्था नै हो भत्रे शेखरको ठहर छ । ‘१० वर्ष अघि प्रचण्डजीले भनेका कुरा म अहिले पनि झल्झली सम्झिरहेछु’, कोइरालाले भने, ‘प्रचण्डजीले भनेको त रेकर्ड नै छ मसित । त्यसैले कि त यो फगत चुनावी एकता हो । साँच्चैको वाम गठबन्धन नै हो भने त्यसको उद्देश्य प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीमार्फत् अधिनायकवाद र एकदलीय शासन नै हो ।’
‘तर यो सबै एकै पटकमा हुनेवाला छैन’, डा. शेखरको धारणा थियो, ‘यिनीहरू पहिले अन्तर्रा्ष्ट्रिय परिस्थिति र दृष्टिकोण बुझ्छन् । यो गठबन्धन बन्दासम्म कुनै अन्तराष्ट्रिय चलखेल थिएन, चलखेल अब हुन्छ । अन्तराष्ट्रिय परिस्थिति अनुकूल भइदियो भने प्रत्यक्ष कार्यकारी राष्ट्रपतीय प्रणाली हुँदै आफ्नो मिसन पूरा गर्न खोज्छन् ।’

काङ्ग्रेसमा नेतृत्व कोइराला परिवारबाटै
केन्द्रीय सदस्य कोइरालाले पार्टीको नेतृत्व कोइराला परिवारबाटै हुने दाबी गरे । राष्ट्र र पार्टीको लथालिङ्ग अवस्था देखेर डाक्टर शशाङ्क निवासमा तीन कोइरालाको बैठक गरिएको उनको स्पष्टोक्ति थियो । कोइरालाले जनाए, ‘त्यहाँ छलफल भयो, पार्टीको बिग्रिएको अवस्थाका बारेमा चिन्तन गरियो ।’

कसले नेतृत्व लिने निर्णय भयो त ? अथवा दुबै डाक्टर एउटै पदमा चुनाव लड्ने हो कि ?
डाक्टर शशाङ्क अहिले महामन्त्री हुनुहुन्छ, उहाँ लड्नसक्नु हुन्छ । अथवा अरू कोही पनि हुनसक्छ । जो हुन्छ मिलेर नै हुन्छ । दुई डाक्टर एउटा पदमा चुनाव लड्ने अवस्था आउँदैन ।’ पहिलो पोष्टबाट