प्रदेश नं ७ बाट प्रतिनीधि सभाकी एक्ली महिला सांसद बीना मगर

893
views

कञ्चनपुर, २७, मंसिर । कञ्चनपुरको निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा वाम गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) की विजयी उम्मेदवार बीना मगर प्रदेश नं ७ बाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने एक्ली महिला बन्नुभएको छ । कैलाली निर्वाचन क्षेत्र नं ५ बाट प्रतिस्पर्धामा रहनुभएकी आरजु राणा देउवा र कैलालीकै निर्वाचन क्षेत्र नं १ बाट प्रतिस्पर्धामा रहेकी वाम गठबन्धनकी उम्मेदवार गरिमा शाह पराजित हुँदा बीनामात्रै चुनावमा भारी मतको अन्तरका साथ विजयी हुनुभएको हो ।

दशवर्षे जनयुद्धका क्रममा २७ महिने नारकीय हिरासत जीवन बिताउनुभएकी मगरले निर्वाचनकै प्रचारप्रसारका क्रममा उहाँका श्रीमान् एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डका छोरा प्रकाश दाहालको असामयिक निधन हुँदासमेत राम्ररी प्रचारप्रसारको कार्य गर्न नपाउँदासमेत जनताको साथ र समर्थन पाएर विजयी हुनुभएको छ ।

संविधानसभाको निर्वाचनमा झिनो मतको अन्तरले पराजित हुँदाको बदला मगरले यस निर्वाचनमा विजयी भएर लिनुभएको छ । कञ्चनपुरको निर्वाचन क्षेत्र नं १ मा वाम गठबन्धनबाट नेकपा ९माओवादी केन्द्र०को उम्मेदवार भई ३८ हजार ४६८ मत ल्याई मगर विजयी हुनुभएको हो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका दिवानसिंह विष्टले १९ हजार २१९ मत ल्याउनुभएको छ । विष्टलाई मगरले १९ हजार २४९ मतको फराकिलो अन्तरले पराजित गर्नुभएको छ ।

विजयी उम्मेदवार मगरले जन्मभूमिको सेवामा सधैँ समर्पित हुने बताउनुभएको छ । विजयी भएपछि प्रतिक्रया दिँदै उहाँले निरन्तर जनसम्पर्क स्थापित गर्न तथा गुनासो र समस्याको समाधानका लागि स्थानीय तहमा सहायता कक्ष (हेल्प डेस्क) स्थापना गर्ने घोषणा गर्नुभएको छ ।