जुन नेताको नेतृत्वमा चुनावमा गयो उसैको पार्टी हार्छ भने राजीनामा दिनुपर्दछ–सिंह

706
views

काठमाडौँ, २९, मङ्सिर । प्रजातन्त्रका लागि संघर्ष गरिरहेको नेपाली काँग्रेसको चुनावी नतिजा कम्जोर आउनु दुःखद भएको सो पार्टीका नेता प्रकाशमान सिंहले बताएका छन् ।
नेपाली काँग्रेस, काठमाडौँ क्षेत्र नं १ ले आज आनन्द इभेन्टमा आयोजना गरेको ‘भेटघाट तथा धन्यवाद कार्यक्रम’मा नेता सिंहले इतिहास र जनताको विश्वास बोकेको पार्टीको पक्षमा सोचेजस्तो नतिजा नआउनु दुःखद भएको बताएका हुन् ।

नेता सिंहले हरेक आन्दोलनकबो नेतृत्व गरेको पार्टीले हार्नु देश र जनताको हार भएको बताउँदै पार्टीभित्रको कम्जोरी नै हारको नतिजा भएको बताए । उनले पार्टीको झोला बोक्ने र असहयोग गर्ने नेता कार्याकर्ताका कारण पार्टीले पराजय भोग्नु परेको बताउँदै काठमाडौँमा समेत काँग्रेसको पक्षमा चित्तबुझ्दो नतिजा नआएको बताए ।

भर्खरै सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा काठमाडौँ क्षेत्र नं १ बाट सांसद बनेका नेता सिंहले मुलुक निर्माण गर्नका लागि राजनीतिमा लागेको व्यक्ति आफू भएको भन्दै काठमाडौँ क्षेत्र नं १ को विकासका लागि आफू सदैव क्रियाशील रहने प्रतिबद्धता व्यक्त रे ।

पूर्व उपप्रधानमन्त्री सिंहले संसद्मा आफ्नो राम्रो सिट नआएको भन्दै सरकार र संसद्ले गरेका राम्रो कामलाई समर्थन र नराम्रो कामको खबरदारी गरी जिम्मेवार प्रतिपक्षको भूमिकामा बस्ने समेत बताए ।
विश्वमा जुन नेताको नेतृत्वमा चुनावमा गयो त्यो पार्टीले हारे राजीनामा दिने चलन छ, नेपालमा पनि त्यो संस्कारको विकास गर्नुपर्छ, सिंहले भने।