मेलम्ची खानेपानी आयोजनाको आधा किलोमिटर सुरुङ खन्न ‘सकस’

1113
views

काठमाण्डौ, २ पुस ।बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको कुल २७।५ किलोमिटर दुरीको सुरुङ मध्ये करिब २७ किलोमिटर सुरुङ खन्ने काम सकिनै लागेको छ । सुरुङ खन्न बाँकी आधा किलोमिटर मात्रै रहेपनि कमलो चट्टान भएकाले कठीन रहेको अधिकारीहरुको भनाइ छ ।

आयोजनामा राजधानीभित्र नौ ठाउँमा पानी भण्डारण स्थल निर्माण गर्ने भनिएको मध्ये अब भक्तपुरमा मात्र धेरै काम बाँकी रहेको छ । मेलम्चीबाट आएको पानी आपूर्ति गर्न सडकमा पाइप बिच्छ्याउने जिम्मा लिएको परियोजना कार्यान्वयन निर्देशनालयले पनि उसको काम ९० प्रतिशत सकिसकेको बताएको छ ।

मेलम्ची खानेपानी आयोजना अन्तर्गत हाल अम्बाथान–सिन्धु र ग्याल्थुम–सिन्धु गरि दुई स्थानबाट सुरुङ् खन्ने काम भइरहेको छ । आम्बाथान–सिन्धुमा १ सय ३० मिटर लम्बाइ बाँकी रहेको छ । २७।५ किलोमिटर सुरुङमध्ये २७ किलोमिटर जति सुरुङको काम सक्न लागेको आयोजना समितिका कार्यकारी निर्दशक रामचन्द्र देवकोटाले बताए ।

देवकोटाले अम्बाथान–सिन्धुमा १सय ३० मिटर लम्बाइ बाँकी रहेको बताउँदै भने ‘डिसेम्बरभित्र छिचोल्ने प्रयास गरिरहेका छौं ।’ अर्को चाहिँ ज्यानुवरीभित्र छिचोल्ने लक्ष्य लिएका छौं । २७।५ किलोमिटर सुरुङमध्ये २७ किलोमिटर जति सकिएको छ । ग्याल्थुम सिन्धुमा नरम चट्टान रहेकाले सुरुङको काम कठीन हुने अनुमान गरिएको छ ।

दोस्रो चरण अन्तर्गत साढे ८ करोड लिटर क्षमताकै अर्को पानी पोखरी बनाउने काम भने भर्खरै शुरु भएको कार्यकारी निर्देशक देवकोटाले बताए । राजधानीबासीको घर घरमा पानी वितरण गर्न सडकमा पाइप बिच्छ्याउने काम दश प्रतिशत मात्र बाँकी रहेको मेलम्ची खानेपानी परियोजना कार्यान्वयन निर्देशनालयका प्रवक्ता लिलाप्रसाद ढकालको भनाई छ । ७७ किलोमिटरमध्ये ६५ किलोमिटरको काम सकिइसकेको छ ।