प्रचण्डलाई पाँचबर्ष प्रधानमन्त्री बनाउने देउवाको अफर अस्विकार

707
views

काठमाण्डौ, ४, पुस । माओवादी केन्द्रको बैठक चलिरहँदा अध्यक्ष पुष्पकमल दाहालले पाँचबर्ष प्रधानमन्त्री बन्ने अफर आएको सुनाए । बैठकमा सहभागी नेताहरुले कहाँ ? को ? र कसले ग¥यो अफर भन्दै चासो दिए । अध्यक्ष दाहालले कांग्रेसले आफूलाई प्रधानमन्त्रीको अफर गरेको खुलाए ।

दाहालले भने ‘कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबारको भेटमा आगामी ५ वर्षकै लागि प्रधानमन्त्री बन्न आफूलाई प्रस्ताव गरेको दाहालले खुलासा गरे । दहालले उक्त अफरलाई सोझै अस्विकार गरेको पनि बताए ।

चुनावी समीक्षा र पार्टी एकताका विषयमा छलफल गर्न सोमबार बसेको पार्टी केन्द्रीय कार्यालयको विस्तारित बैठकमा नेताहरूलाई पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा ब्रिफिङ गर्दै दाहालले प्रधानमन्त्री देउवाले कांग्रेस, मधेसकेन्द्रित दल र माओवादी समेतको संयुक्त सरकार गठन गर्ने र त्यस्तो सरकारको ५ वर्षसम्मै प्रधानमन्त्री आफूलाई दिने गरी प्रस्ताव राखेको जानकारी दिए ।

अध्यक्ष दाहालले काँग्रेस सभापति देउवालाई पाँचबर्ष प्रतिपक्षमा बस्ने मानसिकता बनाउन पनि सझाव दिएको बताए । दाहालको यो भनाईको पुष्टि पार्टी केन्द्रका सचिवालय सदस्य अग्नि सापकोटाले पनि गरे । ‘हामीलाई सरकारको नेतृत्व गर्ने गरी कांग्रेसले प्रस्ताव गरेको थियो’, दाहालको भनाइ उद्धृत गर्दै नेता सापकोटाले भने, ‘तर अध्यक्षले शेरबहादुरजीलाई नेतृत्व हस्तान्तरण गर्दा पनि केपीजीले मलाई प्रधानमन्त्रीको अफर गर्नुभएको थियो, मानिनँ । अहिले ओलीजीलाई दिन खोज्दा पनि शेरबहादुरजीबाट मलाई अफर आएको छ तर त्यस्तो अफरमा हामी रुमल्दैनौं, अहिले त्यस्तो प्रस्ताव, अफर पार्टीको चाहना पनि होइन ।’

कांग्रेसले अहिले पोजिसन खोजेको देखिन्छ, त्यही भएर उसले राष्ट्रियसभासम्बन्धी विषयलाई संवैधानिक र कानुनी रूपमा नभई राजनीतिक रूपमा उठाउन चाहेको देखिन्छ,’ दाहालले बैठकमा भने, ‘कांग्रेस पनि जर्वजस्त शक्तिकै रुपमा देखा परेको छ । उसलाई पनि समेटेर सन्तुलित रूपमा लैजान सक्ने गरी समन्वयकारी भूमिका माओवादीले खेल्नुपर्छ ।’

माओवादीले प्रधानमन्त्री देउवा, एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष दाहालबीच छलफल गर्ने वातावरण तयार पारी सहमतिको खोजी गर्ने निष्कर्ष समेत निकालेको छ ।

राष्ट्रियसभा गठनसम्बन्धी विवाद राजनीतिक विषय हो, यसलाई राजनीतिक सहमतिकै आधारमा समाधान गर्नुपर्छ भन्ने बैठकले निष्कर्ष निकालेको छ । अब शीर्ष नेताहरू नै बसेर निष्कर्ष निकाल्ने गरी अगाडि बढ्छौं, बैठकपछि प्रवक्ता पम्फा भुसालले भनिन् ।

सरकार र पार्टी एकताको विषय सँगसँगै अगाडि लैजानुपर्नेमा पनि माओवादीको उक्त बैठकले जोड दिएको छ । दाहालले पार्टी एकताका सन्दर्भमा जोड्न खोज्नेहरू खुसी मात्र भए पनि तोड्न खोज्नेहरू भने सक्रिय हुन थालेको तर्फ बैठकमा नेताहरूलाई सचेत रहन दाहालले आग्रह गरेका थिए । सरकार गठनअगावै पार्टी एकताको कार्ययोजना नै बनाउनुपर्ने माओवादी बैठकले जोड गरेको छ ।