‘इन्टिग्रिटी आइडल २०१७’ को उपाधी मोरङका सहायक प्रमुख जिल्ला अधिकारीलाई

1212
views

काठमाण्डौ, ४, पुस । सन् २०१७ को ‘इन्टिग्रिटी आइडल’को उपाधी मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेलले प्राप्त गरेका छन् । काठमाण्डौंमा आयोजित एक कार्यक्रमका बीच पौडेललाई ‘इन्टिग्रिटी आइडल २०१७’ घोषणा गरिएको हो ।

यस वर्षको ‘इन्टिग्रिटी आइडल’ मा छनौट भएका अन्तिम पाँच मध्ये एसएमएस र वेभ साईटबाट प्राप्त मतका आधारमा पौडेल ‘सर्वोत्कृष्ट’ अर्थात् ‘इन्टिग्रिटी आइडल’ को छनोटमा परेका हुन् ।

एसएमएस र वेभसाईटबाट गरी प्राप्त भएको ४१ हजार ४ मत मध्ये कुल ३५ हजार १ सय ११ मत सदर भएको थियो । जसमध्ये विजयी शेष नारायण पौडेलले सवैभन्दा बढी अर्थात् ९ हजार ९ सय ३० मत प्राप्त गरेका आयोजक संस्था एकाउन्ट्याविलिटी ल्यावले जनाएको छ ।

कार्यक्रममा प्रमुख अथिति लोकसेवा आयोगको अध्यक्ष उमेश प्रसाद मैनालीले उत्कृष्ठ पाँचै जनालाई प्रशंसापत्र र ट्रफि सहित सम्मान गर्दै कर्मचारीले सदैब जनताको सेवक भएर काम गर्न आवश्यक रहेको धारणा राखेका छन् ।

मनोनयनमा परेका मध्ये जिल्ला कृषि विकास कार्यालयका कृषि प्रसार अधिकृत कृष्ण धिताल, वन विभाग काठमाण्डौमा सहायक वन अधिकृत सवनम पाठक, पञ्चदेव माध्यमिक विद्यालय मान्मा कालिकोटका शिक्षक सबराज बम, मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेल र सामान्य प्रशासन मन्त्रालयका उपसचिव सृजना तिवारी अन्तिम ५ जनामा छनौट भएका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पुर्व प्रमुख आयुक्त सूर्यनाथ उपाध्यायको संयोजनमा पूर्र्व सचिव जीवनप्रभा लामा, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका कार्यकारी प्रमुख पुण्य प्रसाद न्यौपाने र पूर्व विज्ञान तथा प्रविधी मन्त्री गणेश शाह सदस्य रहेको निर्णायक मण्डलले विभिन्न ७ चरणको छनोट प्रकृया पश्चात विभिन्न मापदण्डका आधारमा प्रतिष्पर्धी मध्येबाट अन्तिम पाँचको छनोट गरेको आयोजकले जनाएको छ ।

नागरिक स्तरबाट सर्वोत्कृष्ट कर्मचारीलाई सम्मान गर्न ल्याबले सन् २०१४ देखि ‘इन्टिग्रिटी आइडल’ को सुरु गरेको हो । ‘इन्टिग्रिटी आइडल २०१७’ मा यस वर्षको १५ जनवरी २०१७ बाट चार महिनाका लागि मनोनयन खुल्ला गरिएको थियो । जस अन्र्तगत ७१ जिल्लाबाट १०२० वटा मनोनयन प्राप्त भएको थियो ।

नेपालबाट सुरु भएको यो अभियान चौथो संस्करणसम्म आइपुग्दा, लाईबेरिया, पाकिस्तान, माली, दक्षिण अफ्रिका, नाइजेरिया लगायतका देशमा विस्तार भैसकेको र सन् २०१८ मा श्रीलकांमा पनि यो कार्यक्रम सुरु हुने प्रकृयामा रहेको आयोजक संस्था एकाउन्टिविलिटी ल्यावका प्रमुख नारायण अधिकारीले वताए ।