राष्ट्रसंघका ८० प्रतिसत मुलुकसँग नेपालको कुटनीतिक सम्बन्ध विस्तार

728
views

काठमाण्डौ, ८ पुस । संयुक्त राष्ट्रसंघका ८० प्रतिसत सदस्य राष्ट्रसँग नेपालले आफ्नो कुटनीतिक सम्बन्ध बिस्तार गर्न सफल भएको छ । नेपालले पछिल्लो पटक शनिवबार (८ पुष २०७४ तदनुसार २२ डिसेम्बर २०७४) पश्चिमी युरोपको लिच्टेन्स्टाइनसँग कुटनीतिक सम्बन्ध स्थापना गरेको छ ।

नेपालको कुटनीतिक सम्बन्ध स्थापना भएका मुलुकको संख्या अब १ सय ५५ पुगेको छ । ७ पुषमा न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी प्रतिनिधि दुर्गाप्रसाद भट्टराई र राष्ट्रसंघका लागि लिच्टेन्स्टाइनका प्रतिनिधि क्रिश्चियन वेनवेसरले औपचारिक सहमति पत्रमा हस्ताक्षर गरेका थिए । यद्यपी, दुई मुलुकबीच कुटनीतिक सम्बन्ध भने ८ मंसीर (२२ नोभेम्बर) मा नै भइसकेको थियो ।

संयुक्त राष्ट्रसंघका सदस्य रहेका नेपाल र लिच्टेन्स्टाइनबीच कुटनीतिक सम्बन्ध स्थापित भएको विषयमा भट्टराई र वेनवेसरले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसलाई जानकारी गराइएको सहमतिपत्रमा समेत शनिबार नै हस्ताक्षर गरेका थिए ।

न्यूयोकस्थित नेपालको राष्ट्रसंघीय नियोगमा भएको बैठकमा दुबै राजदूतले दुई मुलुकबीच राष्ट्रसंघको सीमा र परिधिभित्र रहेर दुई मुलुकबीचको सहयोग र सम्बन्ध विस्तारमा अहिले स्थापित प्रत्यक्ष कुटनीतिक सम्बन्धले थप सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए ।

लिच्टेन्स्टाइन संवैधानिक राजतन्त्र रहेको पश्चिम युरोपेली मुलुक हो, जहाँ जर्मन भाषा बोल्ने गरिन्छ । बादुज शहरलाई आफ्नो राजधानी बनाएको यो मुलुक स्वीट्जरल्याण्ड र अष्ट्रियाको बीचमा रहको भूपरिबेष्ठित मुलुक हो ।