वामदेव हराउ अन्तरघातीको लिष्ट एमाले बैठकमा आएपछि खैलाबैला

694
views

काठमाण्डौ, ८ पुस । एमाले उपाध्यक्ष वामदेव गौतमकै निजी निवासमा बसेको बैठकमा उपाध्यक्ष बामदेव गौतमको पराजयको कारणसमेत खोजिएको थियो । बर्दिया १ मा वामदेवको पराजय अनपेक्षित रहेको नेताहरुले बताएका थिए ।

स्रोतका अनुसार बैठकमा गौतमले आफू हार्नुका पछाडि धेरै कारण रहेको भन्दै पार्टीभित्रकै अन्तर्घात, माओवादी कार्यकर्ता बिक्री हुनु र केही आफ्नै कमजोरी पनि सहायक रहेको बताएका थिए ।

गौतमले आफूलाई हराउन लाग्ने केही नेताहरुको नामै लिएर बैठकमा जानकारी गराएको स्रोतले बतायो ।गौतमले आफूलाई हराउन सोही क्षेत्रबाट उपचुनाव जितेका पूर्वसांसद श्याम ढकाल, आफूविरुद्ध बागी उम्मेदवार उठेर पछि फिर्ता लिएका खड्ग खड्का र दामोदर अर्याल लगायत ८ जनाको नाम लिएको र बुझाएपछी खैलाबैला भएको एक नेताले बताए ।

गौतमले माओवादीका जिल्लास्तरीय नेतादेखि गाउँसम्मका कार्यकर्ताहरु कांग्रेसको पैसामा बिकेको सुनाएका थिए । बिगतमा बर्दिया १ छाडेर प्युठान रोज्नु र पछि प्युठान छाडेर बर्दिया फर्किनु पनि कमजोरी रहेको बैठकमा कुरा उठेको थियो । गौतमले चुनावमा उम्मेदवारी दर्तादेखि नै आफूविरुद्ध षडयन्त्र भइरहेको थाहा पाउँदा पनि अन्तर्घात रोक्न नसकेको बैठकमा बताए ।

एमालेले वामदेव गौतमको पराजयको कारण छानविन गर्न दुईवटा समिति बनाइसकेको छ । ५ नम्बर प्रदेश संयोजक विष्णु पौडेलले बैजनाथ चौधरीको संयोजकत्वमा प्रदेशस्तरीय कमिटी गठन गरेका छन् भने जिल्लामा जिल्ला अध्यक्ष हरि ज्ञवालीको संयोजकत्वमा अर्को कमिटी बनेको छ ।