एजेन्सी/मनिला, ९ पुस । फिलिपिन्समा आएको शक्तिशाली आँधीका कारण कम्तीमा एक सयजनाको मृत्यु भएको छ । शुक्रबार दिउँसोदेखि आएको ‘टेमबिन’ नामक सो आँधीका कारण दर्जनौँँ मानिस हराइरहेका छन् । फिलिपिन्सको दोस्रो ठूलो टापु मिन्दानाओमा आएको सो आँधीपछि सयौँ मानिस घाइते भएको प्रहरीले जनाएको छ । आँधीका कारण ५० हजारभन्दा बढी फिलिपिनी विस्थापित भएका छन् ।
करोडौँँको क्षति
आँधीले करोडौँ डलरबराबरको क्षति र्पुयाएको प्रारम्भिक अनुमान गरिएको छ । आँधीले ठूला संरचना पुल, विद्युत् परियोजना र भवनहरू बगाइदिएको छ । आँधीपछिको बाढीले दर्जनौँ संरचना क्षतिग्रस्त हुँदा करोडौँ डलरको क्षति पुगेको फिलिपिन्सको गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ । साथै उक्त आँधीले टेलिफोन र विद्युत् सेवा अवरुद्ध भएको जनाइएको छ ।
बाढीले गाउँ नै सखाप
आँधीपछिको वर्षा र बाढीका कारण दर्जनौँ घर डुबानमा परेका छन् भने तीनवटा गाउँ नै बगाएको छ । त्यस्तै, केही गाउँ डुबानमा परेका छन् । ‘आँधीपछिको बाढीले दर्जनौँ घर बगाएको छ । लानाओ डेल नोर्टी प्रान्तको एउटा गाउँ नै सखाप भएको छ,’ एक प्रहरी अधिकारीको भनाइ उद्धृत गर्दै फ्रान्सेली समाचार संस्था एएफपीले जनाएको छ । दालमा गाउँमा झन्डै दुई दर्जन घर पुरिएका छन् । उद्धारकर्ताहरूले पुरिएका मानिसको जीवितै उद्धारको प्रयास गरिरहेका छन् । त्यस्तै, पिआगापो सहरमा कम्तीमा १० जनाको मृत्यु भएको छ । पहिरोपछि ठूला ढुंगाहरू खसेकाले उद्धारमा कठिनाइ भएको जनाइएको छ ।
सो आँधी पश्चिमी फिलिपिन्स हुँदै भियतनाम पुग्ने अनुमान गरिएको छ । एक साताअघि काई टाक नामक आँधीका कारण मध्यफिलिपिन्समा दर्जनौँको मृत्यु भएको थियो । टुबोड र पिआगापो गाउँ सबैभन्दा बढी प्रभावित भएका छन् । ती क्षेत्रमा दर्जनौँ घरहरू ढुंगाले पुरिएका छन् । प्रतिघन्टा ८० किलोमिटर वेगको उक्त आँधी मिन्डनाओ टापु पार गर्दै दक्षिणी पालावनतर्फ बढिरहेको छ । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो दुतेर्तेले आँधीले ठूलो जनधनको क्षति र्पुयाएको भन्दै दुःख प्रकट गरेका छन् । उद्धारकार्य तीव्र पार्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।
चार वर्षयताकै ठूलो आँधी
आँधीले लाखौँ स्थानीय बासिन्दा प्रभावित भएका छन् भने ५० हजार विस्थापित भएका छन् । विस्थापितलाई सरकारले स्थापना गरेका विभिन्न अस्थायी शिविर र विद्यालयहरूमा राखिएको छ । प्रभावित क्षेत्रका विद्यालय केही दिन बन्द हुने जनाइएको छ । आँधीपछिको बाढीले लानाओ डेल प्रान्तमा कम्तीमा ६२ जनाको मृत्यु भएको छ । त्यस्तै, जाम्बोगा डेल नोर्टीमा ४६ जनाको मृत्यु भएको विपत् व्यवस्थापन कार्यालयका अधिकारीहरूको भनाइ उद्धृत गर्दै फिलिपिन्सको एक दैनिक पत्रिकाले जनाएको छ । शुक्रबारको आँधी चार वर्षयताकै सबैभन्दा ठूलो भएको बताइएको छ । यसअघि सन् २०१३ को नोभेम्बरमा आएको ‘हैयान’ नामक आँधीमा परी झन्डै सात हजार तीन सय ५० को मृत्यु भएको थियो ।