नवराज सिलवालको कीर्ते प्रकरण, प्रहरीको अनुसन्धान

695
views

काठमाडौँ, ९ पुस । नेपाल प्रहरीले पूर्वडिआइजी तथा ललितपुर क्षेत्र नम्बर १ मा एमालेबाट निर्वाचित सांसद नवराज सिलवालको कीर्ते प्रकरणबारे अनुसन्धान भइरहेको जनाएको छ ।

रिपोर्टस क्लबको साक्षात्कार कार्यक्रममा बोल्दै प्रहरी प्रवक्ता मनोज न्यौपानेले सिलवालको कीर्ते प्रकरणबारे अनुसन्धान भइरहेको बताएका हुन् ।

किर्ते प्रकरणबारे अहिले केही नमिल्ने पनि न्यौपानेले बताए । ’नवराज सिलवालबारे अनुसन्धान भइरहेको छ’, उनले भने, ’म सबै कुरामा अपडेट छैन, अपडेट भएर जवाफ दिन्छु ।’

सिलवालविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंमा जाहेरी दार्ता गराएर आइजीपी प्रकाश अर्याल र मुख्य सचिव लोकदर्शन रेग्मीको निर्देशनमा अनुसन्धान अघि बढाइएको छ ।

सरकारले जयबहादुर चन्दलाई आइजीपी बनाएपछि तत्कालीन वरिष्ठतामा अगाडि रहेका डीआईजी सिलवालले सर्वोच्च अदालतमा रिट हालेका थिए ।

तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको पूर्ण इजलासले चन्दको नियुक्ति बदर गरी कार्यसम्पादन मूल्यांकनमा धेरै अंक ल्याउनेलाई प्रहरी प्रमुख बनाउन आदेश दिएको थियो । त्यही आदेश अनुसार शेरबहादुर देउवा नेतृत्वको सरकारले प्रकाश अर्याललाई प्रहरी प्रमुख बनायो ।

तर त्यसबाट पनि असन्तुष्ट सिलवालले पुनस् सर्वोच्चको ढोका ढक्ढक्याए । त्यसपछि नयाँ प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली नेतृत्वको पूर्ण इजलासले उनको मागदाबी अस्वीकार गर्यो ।

कीर्तेमा संलग्नलाई कारबाही गर्न आदेश दिएको फैसलाको पूर्ण पाठ पनि सर्वोच्चले सार्वजनिक गरेको छ । जसमा सिलवालले बुझाएको र लोकसेवाबाट प्राप्त कार्यसम्पादन मूल्यांकनमा फरक फरक अंक देखिएको भन्दै यसमा संलग्नमाथि छानविन गरी कारबाही गर्न आदेश दिइएको थियो ।