प्रचण्ड र ओलीबीच पार्टी एकता, सरकार गठन, राष्ट्रिय सभा अध्यादेश बारे छलफल

709
views

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ । भावी सरकार गठन, दुई पार्टीबीचको एकता, राष्ट्रिय सभाको गठन बारे फरक–फरक धारणा सार्वजनिक भइरहेका बेला वाम गठबन्धनका दुई शीर्ष नेताबीच भएको भेटवार्तालाई महत्वका साथ हेरिएको छ ।

बुधबार दिउँसो माओवादी अध्यक्ष प्रचण्ड ओलीलाई भेट्न बालकोट पुगेका हुन् । ओली र प्रचण्डबीचको भेटवार्तामा पछिल्लो राजनीतिक गतिरोध, नयाँ सरकार गठनलगायतका विषयमा छलफल भएको ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

प्रचण्ड र ओलीबीच पार्टी एकता, सरकार गठन, राष्ट्रिय सभा अध्यादेशलगायतका विषयमा कुराकानी भएको छ । भेटमा प्रचण्ड र ओलीबीच निकै सौहार्द वातावरणमा छलफल भएको प्रचण्डको निजी सचिवालयले जनाएको छ ।

छलफलमा जनताले नयाँ जनादेश दिएको परिस्थितिमा वर्तमान सरकारले नयाँ सरकार गठनको मार्ग प्रशस्त गर्नुपर्ने विषयमा दुई नेताबीच कुराकानी भएको थियो । निर्वाचन आयोगले पनि नयाँ सरकार गठनका विषयमा वातावरण सहज बनाउनुपर्ने बारे पनि नेताहरु बीच कुराकानी भएको छ ।

दुई अध्यक्ष बीच राजनीतिक वातावरण सहज बनाएर पार्टी एकतालाई अघि बढाउने समझदारी भएको छ । १–२ दिनमै संयोजन समितिको बैठक बोलाएर पार्टी एकताको प्रक्रिया अघि बढाउने पनि प्रचण्ड र ओलीबीच समझदारी भएको छ ।

दुई नेताबीचको छलफलले पार्टी एकतामा कुनै अलमल नभएको कुरामा आफूहरु प्रष्ट रहेको बताएका छन् । भेटपछि ओलीका प्रेस संयोजक अधिकारीले भने, ‘पार्टी एकतामा कुनै अलमल नभएको कुरामा दुवै अध्यक्ष प्रष्ट हुनुहुन्छ ।’ कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ सरकार गठनको बाटो खोलिदिनुपर्छ भन्ने कुरामा समेत दुवै नेता एकमत देखिएका छन् ।

दुई नेताबीचको छलफलमा नयाँ सरकार गठनको लागि अहिलेको सरकारले मार्ग प्रशस्त गर्नुपर्ने समान धारणा राखेका छन् । ‘राष्ट्रपति कार्यालयमा पुगेर अड्किएको अध्यादेशको गाँठो फुकाउन सरकारले आफैँ पहल गर्नुपर्छ । त्यसका लागि एउटा मात्र विकल्प छ, सरकारले अध्यादेश फिर्ता लिनुपर्छ ।’, ओलीको भनाइ उद्धृत गर्दै प्रेस संयोजक अधिकारीले भने ।