आङ सान सुची विदेशमन्त्री बनेसँगै बन्यो म्यानमार–नेपाल मैत्रीसंघ

743
views

काठमाडौँ, १२ पुस । एउटा सुखद संयोग ! आमा खिन यी नेपालका लागि बर्मा (म्यानमार) को राजदूत हुँदा किशोरकालमा सन् १९६० को दशकमा र पति एरिससँग विहे गरेपछि ’७० को दशकमा नेपाल आएकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकी बर्माको विदेश मन्त्रीको जिम्मेवारीमा रहेको बेला ‘म्यानमार–नेपाल मित्रमण्डल’ को गठन भएको छ। रङ्गुनस्थित नेपाली राजदूतावासले म्यानमारको विदेश मन्त्रालयको परामर्शमा यो संस्थाको गठन भएको जानकारी दिएको छ।

सन् १९६० मा नेपाल–म्यानमार सम्बन्ध र सन् १९६५ मा म्यानमारमा नेपाली राजदूतावास स्थापना भएपछि पहिलो पटक स्थापना गरिएको हो। संस्थाको अध्यक्ष नेपालका लागि म्यानमारका पूर्व राजदूत उ ला मिन्ट उलाई बनाइएको छ । नेपालका लागि पूर्व बर्मेली राजदूत उ त्यहाँको संसद अन्तर्गत रहेको अन्तर्रा्ष्ट्रिय सम्बन्ध मामिला कमिटीका पूर्व प्रमुख पनि हुन्। यो संस्था ९ पुषका दिन गठन भएको नेपाली राजदूतावासले जनाएको छ।

नेपाल–बर्माबीच ‘ट्र्याक टु डिप्लोम्यासी’ लाई बढावा दिन रङ्गुनस्थित नेपाली राजदूतावासमा सोही दिन बर्मेली बुद्धिजीवी, सामाजिक कार्यकर्ता र ब्यापारीहरु जम्मा भएका थिए। सो जमघटमा बर्मामा रहेका प्रवासी नेपालीहरुको समेत उपस्थिति थियो। बर्मेली विदेश मन्त्रालयको परामर्श र स्वीकृतिसमेत प्राप्त भएपछि त्यही भेलाले दुई देशबीचको सम्बन्धलाई जनस्तरमा समेत थप विस्तार गर्न पूर्व राजदूत उको नेतृत्वमा संस्था गठन गरेको हो।

५४ बर्षे सैन्य शासन अन्त्य भई बनेको लोकतान्त्रिक नागरिक सरकार र नेपालको गणतान्त्रिक सरकार दुई देशबीच पर्यटन, व्यापार लगानीको क्षेत्रमा सम्बन्ध विस्तार गर्न चाहन्छन् र त्यसै अन्तर्गत यो संस्थाको गठन नेपाली राजदूतावासले बताएको छ। संस्था गठन भएपछि बर्माका लागि नेपाली राजदूत भीम उदासले अध्यक्षलाई बधाई दिएका थिए भने अध्यक्ष उले नेपाली राजदूतवासलाई धन्यवाद दिँदै नेपाल बसाईंका रमाइला दिनहरुको स्मरण गरेका थिए।

तीन बर्षअघि तत्कालिन सैनिक सरकारको नजरबन्दबाट मुक्त भएपछि सुकी २०७२ मा नेपाल आएकी थिइन् । तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाको निम्तोमा नेपाल आउँदा उनले किशोरकालमा आमा र युवा उमेरमा पति माइकल एरिससँग नेपाल आएर केही महिना यतै बिताएका घटनाहरुको स्मरण गरेकी थिइन्। बर्माको संवैधानिक प्रावधान अनुसार राष्ट्रपति बन्न नसकेपनि सुकी नेतृत्वकै विदेश मन्त्रालयको परामर्शमा यो संस्थाको गठन भएको छ । नेपालखबरबाट