बालकोट र लाजिम्पाटको बैठकले नयाँ सरकार गठन हुँदैन–नेता विश्वकर्मा

558
views

काठमाण्डौ १३ पुस । वाणिज्यमन्त्री तथा कांग्रेसका नेता मिन विश्वकर्माले संवैधानिक र राजनीतिक प्रक्रियाका कारण तत्काल सरकार छोड्न नसकिएको बताएका छन् । जनमतको कदर गर्दै आफूहरु सरकार छोड्न तयार भए पनि प्रक्रियागत रुपमा कठिनाई आएको उनले बताए ।

नेता विश्वकर्माले अहिले अर्को सरकार बन्न सक्ने अवस्था नरहेकाले यो सरकार काम चलाउ सरकारको रुपमा पनि काम गर्नुपर्ने भएको बताए ।

‘सरकारमा जान चाहनेहरुले भन्नुपर्यो कि प्रधानमन्त्री शेरबहादुर देउवाले राजिनामा दिएपछि कसरी सरकार बनाउनुहुन्छ । प्रतिनिधिसभाको नतिजा नै आएको छैन ।’ उनले प्रश्न गरे । ‘वालकोटमा वा लाजिम्पाटमा बहुमत पुगेर हुँदैन । संसदमा बहुमत पुग्नुपर्छ । अहिले संसदको बैठक बस्न सक्छ ?” उनले प्रश्न थपे ।

संसदीय प्रणालीमा सरकार गठन संसदबाट हुनुपर्ने बताउँदै उनले संसदको निर्वाचन भइसकेकापछि संसदमा नै बहुमत पुग्नुपर्ने बताए । प्रधानमन्त्री देउवा सरकार छोड्न जतिबेला पनि तयार भएको दाबी गर्दै उनले निर्वाचनको प्रक्रिया पूरा नहुँदासम्म नयाँ सरकार गठन हुन नसक्ने बताए ।

फरक प्रसङ्गमा विश्वकर्माले संविधानअनुसार राष्ट्रपतिले राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश तत्काल प्रमाणित गर्नुपर्ने बताए । मन्त्रीपरिषदले पेश गरेको विधेयकको अध्यादेश कानुसम्मत भएको उनको दाबी थियो ।

कांग्रेसले अझै राम्रो रणनीति बनाउन सकेको भए चुनावी नतिजा राम्रो आउने उनको भनाई छ । कांग्रेसभित्रैबाट भएको अनुशासनहिनता र वाम गठबन्धनका कारण पराजित हुन पुगेको उनले बताए ।