बिपी राजमार्गको एकतिहाइ सडकखण्ड काम नलाग्ने

पुनर्निर्माण गर्न १ अर्ब ५० करोड रुपैयाँ आवश्यक

1169
views

काठमाण्डौ १३ पुस । पूर्ण सञ्चालनमा आएको साढे २ वर्षमै बिपी राजमार्गको एकतिहाइ सडकखण्ड काम नलाग्ने गरी बिग्रिएको छ । १ सय ६० किलोमिटर (धुलिखेल–बर्दिवास) लामो राजमार्गको नेपालथोक–धुलिखेल खण्डमा पर्ने ५० किलोमिटर सडक पूर्ण रूपले क्षति भएर पुनर्निर्माण गर्नुपर्ने अवस्थामा पुगेको अध्ययनले देखाएको हो ।

जापान सरकारले करिब २० वर्ष (२०५२–२०७२) लगाएर निर्माण गरेको बिपी राजमार्ग १८ असार ०७२ मा नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । तर, नेपाली व्यवस्थापनको जिम्मामा आएको ३० महिनामै सडक पूर्ण रूपले पुनर्निर्माण गर्नुपर्ने अवस्थामा पुगेको छ ।

जापान अन्तराष्ट्रिय सहयोग नियोग (जाइका) र सडक विभागको टोलीले गरेको अध्ययनले आवधिक मर्मत नगर्नु, क्षमताभन्दा हेभी सवारीसाधन सञ्चालन हुनु, ट्रिपरमा पानी चुहाउँदै गिट्टी, बालुवा र ढुंगाको ओसार–पसार अधिक हुनु, दैनिक जति सवारीसाधन गुडाउन सडकको डिजाइन गरिएको थियो, सोभन्दा बढी सवारीसाधन गुड्नुलगायतलाई सडक बिग्रनुको मुख्य कारण मानिएको छ ।

पुनर्निर्माणका लागि साढे १ अर्ब माग
पूर्ण रुपमा विग्रिएको बिपी राजमार्गको पुनर्निर्माण गर्न १ अर्ब ५० करोड रुपैयाँ आवश्यक देखिएको छ । त्यसका लागि सडक विभागसँग आग्रह गरेको बिपी राजमार्ग आयोजनाका निमित्त प्रमुख राकेश महर्जनले जानकारी दिए । ‘तत्कालका लागि २० देखि २५ करोड रुपैयाँ उपलब्ध गराउने हो भने पनि सवारी सुचारु गर्न र मुख्य खाल्डाखुल्डी पुर्न सम्भव छ,’ उनले भने ।

पछिल्ला ५ महिना (जेठ) देखि अध्ययन गरिरहेको उक्त टोलीले राजमार्गका विभिन्न खण्डमा सडकको सतह चर्केको, धस्सिएको, ग्याविन पर्खाल भत्किएको र चट्टान झरेकोलगायत अवस्था फेला परेका थिए । सडकका विभिन्न भाग कमजोर हुनुमा १२ वैशाख ०७२ र त्यसपछि निरन्तर गएका भूकम्पका कम्पनलाई कारक मानिएको छ ।

धुलिखेल–पात्लेखेत कालोपत्रे
सवारी सञ्चालनका लागि कठिन मानिएको धुलिखेलदेखि पात्लेखेतसम्मको १० किलोमिटर सडक कालोपत्रे गर्ने काम हुँदै छ । निर्माण कम्पनी सपन र आरडीको संयुक्त उपक्रमले गरिरहेको निर्माण कार्यका लागि ८ करोड रुपैयाँ बजेट छुट्याएको छ । उक्त सडकको सतह ‘ड्रेसिङ’ गर्ने काम भने माघको दोस्रो सातादेखि गर्ने तयारी छ ।