गम्भिर प्रकारका अशक्त बिरामीलाई मासिक पाँच हजार भत्ता दिने सरकारको निर्णय

834
views

काठमाण्डौ, १३ पुस । सिंहदरवारमा आज बसेको मन्त्रिपरषद्को बैठकले गम्भीर प्रकृतिका अशक्त बिरामीलाई मासिक रु पाँच हजार जीविकोपार्जन भत्ता उपलब्ध गराउने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को बैठकले दुवै मृर्गाैलाले काम नगर्ने, क्यान्सर रोगी र स्पाइनल इन्जुरी भई प्यारालाइसिस भएका अपांग बिरामीलाई मासिक पाँच हजार भत्ता उपलब्ध गराउने निर्णय गरेको अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

सो बैठकले डा.पुष्पा चौधरीलाई स्वास्थ्य मन्त्रालयको सचिवमा नियुक्त गर्ने निर्णय पनि गरेको छ । त्यस्तै रानीपोखरी पुनःनिर्माणमा देखिएको विवाद समाधानका लागि पुरातत्व विभागले स्वीकृत गरेको मापदण्ड बमोजिम नै निर्माण गर्न निर्देशन दिने निर्णय गरेको पनि मन्त्री कार्कीले बताउनुभयो ।

बैठकले व्यावसायिक शिक्षा तथा तालीम अभिवृद्धि परियोजनाको प्रथम चरणको असल अभ्यासलाई संस्थागतरुपमा सञ्चालन गर्दै यसलाई थप सुदृढ र प्रभावकारी बनाउने उद्देश्यले विश्व बैंकले दोस्रो चरणका लागि दिने ६ अर्ब २१ करोड ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

त्यस्तै काठमाडौँ विश्वविद्यालयमा अनुसन्धान तथा विकास केन्द्र स्थापनाका लागि कोरिया सरकारले उपलब्ध गराउने एक अर्ब चार करोड अनुदान सहयोग स्वीकार गर्ने निर्णय गरेको मन्त्री कार्कीले बताउनुभयो ।