कमल थापाको दबाबले मन्त्री गिरी पदमुक्त

658
views

काठमाण्डौ, १६ पुस । कमल प्रधानमन्त्री शेरबहादुर देउवाले सहरी विकासमन्त्री दिलनाथ गिरीलाई पदमुक्त गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीको सिफारिसमा मन्त्री बनेका गिरीलाई राप्रपा अध्यक्ष तथा उपप्रधानमन्त्री कमल थापाको दबाबमा देउवाले आइतबार पदमुक्त गरेका हुन् । प्रधानमन्त्रीको निजी सचिवालयका उपसचिव बद्री अधिकारीले मन्त्री गिरीलाई प्रधानमन्त्रीले पदमुक्त गरेको पुष्टि गरे । ‘राष्ट्रिय प्रजातन्त्र पार्टीको सिफारिसमा सहरी विकासमन्त्री दिलनाथ गिरीलाई प्रधानमन्त्रीज्यूले पदमुक्त गर्नुभएको छ,’ उपसचिव अधिकारीले भने ।

उनले सो मन्त्रालयको जिम्मेवारी उपप्रधानमन्त्री तथा ऊर्जामन्त्रीसमेत रहेका कमल थापालाई दिइएको जानकारी दिए ।

बिहीबारको मन्त्रिपरिषद् बैठकमा सचिव परिवर्तनको विषयलाई लिएर मन्त्री गिरी र उपप्रधानमन्त्री थापाबीच भनाभन भएको थियो ।

गिरीले सहरी विकास मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्मालाई सरुवा गरी भखैरै मात्र सहरी विकास तथा भवन निर्माण विभागको महानिर्देशकबाट सचिवमा बढुवा भएका डा. रमेशकुमार सिंहलाई ल्याउने प्रस्ताव मन्त्रिपरिषद बैठकमा पेश गरेका थिए ।

त्यसपछि मन्त्री थापाले मन्त्री गिरीलाई आफूसँग सल्लाह नै नगरी सचिव परिवर्तनको प्रस्ताव ल्याएको भन्दै हपारेका थिए ।