देउवाले दुई महिनामा गर्नुपर्ने काम दुई बर्षमा गर्न सकेनन्– नेता सिंह

749
views

काठमाण्डौ १७ पुस । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सभापति देउवाले दुई महिनामा गर्नुपर्ने काम दुई बर्ष वित्दा पनि गर्न नसकेको बताएका छन् ।

पार्टी सभापति शेरबहादुर देउवाले १३ औँ महाधिवेशन भएको दुई वर्ष भइसक्दा समेत केन्द्रीय पदाधिकारी र विभागहरूलाई पूर्णता दिन नसकेको भन्दै आलोचना गरेका हुन् ।

उनले काठमाण्डौमा आयोजित नेपाल विद्यार्थी संघको राष्ट्रिय एकता र मेलमिलाप दिवसका अवसरमा यस्तो बताएका हुन् ।

‘सभापतिज्यूले उपसभापति र महामन्त्री मनोनीत गर्न सक्नु भएन । विभागहरूले पूर्णता पाउन सकेको छैन । उहाँले कांग्रेसलाई फंसनमा लैजान सक्नु भएन ।’

कांग्रेसलाई उपचारको खाँचो रहेको बताएका नेता सिंहले भने, ‘वर्तमान नेतृत्वको गुणगान गाउँदैमा कांग्रेसमा सुधार हुँदैन । कांग्रेस बिरामी भएको छ । थलिएको छ । सुधारको आवश्यक्ता छ । हामी आफैले कांग्रेसलाई सुधार गर्नुपर्छ ।’

कांग्रेसलाई बलियो बनाउनका लागि विधान र नियमअनुसार पार्टी चलाउनु पर्ने नेता सिंहले सभपाति देउवालाई सुझाव दिए ।

एमालेले राष्ट्रिय सभाको अध्यादेशलाई लिएर गरेको बखेडाप्रति संकेत गर्दै नेता सिंहले भने, ‘राष्ट्रिय सभा निर्वाचनसम्बन्धी अध्यादेश एमालेले आफै रोक्यो ।

राष्ट्रपतिले ढिलो भए पनि जारी गर्नुभएको छ । राष्ट्रिय सभाको निर्वाचन सम्पन्न हुनेवित्तिकै नयाँ सरकारलाई नेतृत्व हस्तान्तरण गरेर कांग्रेसले सत्ता छाड्छ । त्यसपछि कांग्रेस एक मिनट पनि सत्तामा बस्दैन ।’