‘प्रधानमन्त्री देउवाले राजिनामा दिँदा राम्रो’ भन्दै गगनलाई पनि कोईरालाको जवाफ

652
views

विराटनगर १९ पुस । कांग्रेस केन्द्रीय सदस्य शेखर कोइरालाले संविधानतः राजिनामा दिनुनपर्ने भएपनि प्रजातान्त्रिक संस्कार अनुरुप प्रधानमन्त्री शेरबहादुर देउवाले राजिनामा दिनु उत्तम हुने बताएका छन् ।
विराटनगरस्थित कोइराला निवासमा पत्रकारहरुसँग कुरा गर्दै कांग्रेस नेता कोइरालाले भने, ‘संविधान आफैँमा पूर्ण हुँदैन् । तर निर्वाचन सम्पन्न भइसक्दा पनि सरकार गठनमा ढिलाइ हुनेखालको यसरी संविधान बनाउनु हुँदैन थियो ।’

कांग्रेसलाई जनताले पाँच वर्षसम्म प्रतिपक्षमा बस्न जनादेश दिएको बताएका कोइरालाले वाम गठबन्धनलाई सरकार बनाउन जनादेश प्राप्त भएकाले कांग्रेसले पाँच वर्ष संसदमा प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्ने बताए ।
सो अवसरमा कोईरालाले गगन थापा लगायतका युवा नेताहरुलाई ‘युवाहरुको जत्तिकै जाँगर म मा पनि छ, मैले पनि व्यापक रुपमा देशव्यापी दौडाहा गरिरहेको छु । कांग्रेसलाई ‘युवाहरुको जोश पाकाहरुको होस’ आवस्यक छ ।’ पार्टी केन्द्रीय समितिको बैठकपछि विधानमा केही संशोधन गरी महाधिवेशनमा जानुपर्नेमा पनि उनले जोड दिए।
नेपालको विदेश नीति दुवै छिमेकी मुलुकका साथै अन्य युरोपेली मुलुकसँग पनि समतुल्य सम्बन्धका साथ अगाडि बढ्नुपर्ने बताएका कोइरालाले त्यसो नभए मुलुक अप्ठेरोमा पर्न सक्ने चेतावनी पनि उनले दिए ।