बर्दियामा बाक्लो हुस्सु र शीतलहरले जनजीवन प्रभावित, खेतीबालीमा डढुवाको प्रकोप

613
views

गुलरिया/ बर्दिया, १९, पुस । बर्दियासहित पश्चिम नेपालका जिल्लामा बाक्लो हुस्सु र शीतलहरसँगै कठ्यांग्रिने जाडो बढेको छ । बाक्लो हुस्सुसँगैको शीतलहरका कारण बढेको कठ्यांग्रिने जाडोले बर्दियाकोे जनजीवन प्रभावित भएको छ ।

हुस्सुका कारण धेरै भागमा केही दिनदेखि घाम देखिन सकेको छैन । शीतलहरसँगै बढेको जाडोले विद्यालयका छात्रछात्रा, वृद्धवृद्धा र दैनिक मजदुरी गर्नेलाई बढी असर पु¥याएको छ । जाडो बढेपछि सर्वसाधारणलाई आगो ताप्न दाउराको अभाव भएको छ ।

शीतलहरका कारण आलु, गोलभेँडालगायतको तरकारी बालीमा डढुवा रोगको समस्या देखिएपछि किसान चिन्तित बनेका छन् । शीतलहरका कारण आलु बालीको डाँठ र पातमा डढुवाको प्रकोप देखिँदा समस्या भएको स्थानीयवासी किसान मानबहादुर चौधरीले बताए ।

जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत परशुराम रावतले डढुवा रोगबाट आलु गोलभेँडालगायतका बालीलाई जोगाउन हप्तामा एकपटक ढुसीनाशक विषादी पाउडर पानीमा मिसाएर छर्किनु पर्ने सुझाव दिनुभएको छ ।

जाडो बढेसँगै निमोनिया, रुघाखोकी, श्वासप्रश्वासलगायतका बिरामीको चाप स्वास्थ्य संस्थामा बढ्न थालेको प्राथमिक स्वास्थ्य केन्द्र राजापुरका स्वास्थ्यकर्मी देवी खनालले बताउनुभयो ।

जाडोबाट बच्न न्यानो हुने गरी कपडा लगाउनु पर्ने तातो तथा झोलिलो पदार्थ प्रशस्त खाने र अत्यावश्क काममाबाहेक घर बाहिर निस्कन नहुने प्राथमिक स्वास्थ्य चौकीका डा रुपेश ओडले आग्रह गर्नुभयो ।