राष्ट्रिय सभा निर्वाचन र सत्ता हस्तान्तरण गर्न बाम गठबन्धनको दबाब

750
views

काठमाडौं २०, पुस । वाम गठबन्धनले अबिलम्ब सत्ता हस्तान्तरण गर्न र राष्ट्रिय सभाको निर्वाचन माघ १० गतेभित्र गर्न प्रधानमन्त्रीलाई दवाब दिएको छ । बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको सर्वदलीय बैठकमा वाम गठबन्धनका नेताहरूले प्रधानमन्त्रीलाई सत्ता हस्तान्तरण गर्न विलम्ब नगर्न सुझाव दिएको एमाले नेता अग्नि खरेलले जानकारी दिए ।

‘राष्ट्रिय सभा गठन सम्बन्धी अध्यादेश जारी गरेपछि सत्ता हस्तान्तरण गर्छु भन्नुभयो तर अहिलेसम्म निर्वाचन मिति पनि घोषणा भएन’, खरेलले बैठकमा गठबन्धनको भनाई उद्धृत गर्दै राष्ट्रिय सभालाई देखाएर सत्ता लम्ब्याउने काम भएको आरोप लगाए ।


सर्वदलिय बैठकमा प्रधानमन्त्री देउवाले आफू सत्ता हस्तान्तरण गर्न तयारै रहेको बताएका थिए । जवाफमा वाम गठबन्धनका नेताहरूले निर्वाचनको परिणामले नै सत्ता हस्तान्तरणको जनादेश दिएकोले ढिला नगर्न भनेका थिए ।

बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माघ १० गतेभित्र राष्ट्रिय सभाको निर्वाचन गर्न प्रधानमन्त्रीसमक्ष प्रस्ताव गरेको खरेलले बताए । प्रधानमन्त्रीले प्रदेश प्रमुख नियुक्ति र प्रदेशहरूको अस्थायी मुकामका बारेमा सर्वदलीय बैठकमा प्रस्ताव राखेपछि वाम गठबन्धनले राष्ट्रिय सभाको निर्वाचनका बारेमा जिज्ञासा राखेको थियो ।

राष्ट्रिय सभा निर्वाचनको मिति घोषणा गर्ने तयारीमा सरकार रहेको जानकारी दिँदै प्रधानमन्त्रीले बिहीबार नै निर्वाचन आयोगसँग यसबारेमा परामर्श गरिने बताए ।

प्रधानमन्त्री देउवाले प्रदेश प्रमुख नियुक्ति, प्रदेशहरूको अस्थायी मुकाम र राष्ट्रिय सभाको मिति घोषणाबारे दलहरूको सुझाव लिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए ।

बैठकमा नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीका शीर्ष नेतृत्वहरू सहभागी थिए । एमाले अध्यक्ष केपी शर्मा ओली भने बैठकमा सहभागी थिएनन् ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमाले नेताहरू सुवास नेम्वाङ, भीम रावल, विष्णु पौडेल, अग्नि खरेल, कांग्रेस नेताहरू रामचन्द्र पौडेल, विजय गच्छदार, सशांक कोइराला, कृष्ण सिटौला, माओवादी केन्द्रका नेताहरू नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा बादल, संघीय समाजवादी फोरमका राजेन्द्र श्रेष्ठ, राजपाका महेन्द्र राय यादव, राजेन्द्र महतो लगायतका नेताहरू सहभागी थिए ।