विमान उडाइरहेको समय पाइलट र को–पाइलटबीच विवाद

1021
views

काठमाडौं, २०, पुस । जेट एयरवेजको एउटा विमानमा पाइलट र को–पाइलटबीच उडानकै समयमा विवाद बढेको तथा विवादकै बीच को–पाइलट रुँदै ककपिटबाट बाहिर निस्किएको समाचार प्रकाशमा आएको छ ।

समाचार एजेन्सीहरुका अनुसार नयाँ वर्षको पहिलो दिन अर्थात् १ जनवरीमा लन्डनबाट मुम्बईतर्फ आउँदै गरेको विमानमा सो घटना भएको हो । सो विमानमा पाइलट र महिला को–पाइलटबीच उडानकै समयमा विवाद भएको बताइन्छ । ती दुवै ‘लिभ–इन रिलेशनसिप’ मा रहेको समाचार एजेन्सीहरुको भनाइ छ ।

विवादकै बीच पाइलटले को–पाइलटलाई थप्पड हानेपछि रुँदै ककपिटबाट को–पाइलट बाहिर निस्किएकी थिइन् । विमानमा सवार यात्रुका अनुसार बारम्बार पाइलटले संकेत गर्दै को–पाइलटलाई ककपिटमा बोलाएका थिए । तर को–पाइलटले ककपिटमा नबस्ने अडान लिएपछि यात्रुसमेत चकित भएका थिए ।

केहीबेरमा पाइलट स्वयं ककपिटबाट बाहिर आएर को–पाइलटलाई मनाउने प्रयास गरेका थिए । तर को–पाइलटले जान नमानेपछि यात्रुले सम्झाइ–बुझाइ उनलाई भित्र पठाएका थिए । केहीबेर पछि पुनः ती महिला को–पाइलट बाहिर निस्किएकी थिइन् । त्यसपछि केबिन क्रु र यात्रु मिलेर उनलाई फेरि विमान गन्तव्यसम्म पु¥याउन मद्दतका लागि मनाएका थिए ।

सो घटनाबारे भारतीय नागरिक उड्डयन महानिर्देशनालय (डीजीसीए) लाई जानकारी गराइएको बताइएको छ । सो घटनाबारे डीजीसीएले आन्तरिक छानविनको आदेश दिएको छ । तत्कालका लागि पाइटलको लाइसेन्स निलम्बन गरिएको छ भने महिला को–पाइलटलाई ‘ग्राउन्ड अट्याच’ गरिएको छ ।

जेट एयरवेजले घटनाको पुष्टि गर्दै भनेको छ, ‘जेट एयरका लागि यात्री, चालक दल र विमानको सुरक्षा अहम् विषय हो । यसमा पूण प्रतिबद्ध नहुने कर्मचारीविरुद्ध शुन्य सहनशीलताको नीति अवलम्बन गरिनेछ ।’ (एजेन्सी)