मित्रराष्ट्र जाम्बिया सेनाका आर्मी कमाण्डर स्वदेश फिर्ता

869
views

काठमाण्डौ, २६ पुस । नेपालको औपचारिक सद्भावना भ्रमणको सिलसिलामा पौष १९ गते नेपाल आउनु भएका मित्रराष्ट्र जाम्बिया सेनाका आर्मी कमाण्डर लियुटेनेण्ट जेनेरल पाउल मिओबा डिएफएस पिएससी पिएलसी पिएम (सात) दिने भ्रमण सम्पन्न गरी आज स्वदेश फिर्ता हुनुहुने कार्यक्रम रहेको छ ।

आर्मी कमाण्डर लियुटेनेण्ट जेनेरल पाउल मिओबा डिएफएस पिएससी पिएलसी पिएमलाई सैनिक ईण्टेलिजेन्स महानिर्देशक उपरथी जगदीशचन्द्र पोखरेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाई गर्नुहुने कार्यक्रम रहेको छ ।

भम्रणको क्रममा उहाँले राष्ट्रपति, प्रधानमन्त्री, रक्षामन्त्री, प्रधानसेनापतिलगायत उच्चपदस्थ सैनिक व्यक्तिहरुसँग समेत भेटवार्ता गर्नुभएको थियो ।भ्रमणकै दौरान वहाँले श्री सैनिक कमाण्ड तथा स्टाफ कलेज, श्री नेपाली सैनिक प्रतिष्ठान र श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको निरीक्षण भ्रमण गर्नुभएको थियो ।

श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको निरीक्षण गर्ने क्रममा उहाँले विश्व शान्ति कार्यमा जानुपूर्व नेपाली सेनाले पूरा गर्ने तालिम, बन्दोबस्ती तयारी लगायत अन्य विविध विषयमा जानकारी लिनु भएको थियो । भ्रमणकै दौरान वहाँले पोखरा तथा चितवन राष्ट्रिय निकुञ्जको समेत भ्रमण गर्नुभएको थियो ।

चितवन राष्ट्रिय निकुञ्जको भ्रमणको क्रममा नेपाली सेनाले चोरी शिकारी नियन्त्रण गर्न प्रयोग गरेका आधुनिक प्रविधिलगायत प्रकृति तथा बन्यजन्तु संरक्षणमा खेलेको भूमिकाको बारेमा समेत जानकारी लिनु भएको थियो ।
उच्च तहको सैनिक नेतृत्व वर्गको भ्रमणले नेपाली सेना र मित्रराष्ट्र जाम्बिया सेनाबीच रहँदै आएको आपसी सौहार्दपूर्ण सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्नुको साथै नेपाली सेनाको अधिकांश शान्ति सैनिक मिशनहरु अफ्रिकी महादेशमा नै रहेकोले अफ्रिकी महादेशकै राष्ट्र जाम्बियाको सेना प्रमुखको नेपाल भ्रमणबाट अफ्रिकी राष्ट्रहरुमा शान्ति स्थापना कार्यमा सहकार्य गर्न थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले जनाएको छ ।