संक्रान्तिले बढ्यो तरुलको माग, राजधानीमा १३ करोड बढीको कारोबार

838
views

काठमाण्डौ, ३०, पुस । माघे संक्रान्ति नजिकिँदै जाँदा तरुलको व्यापार उच्च भएको छ । एक साताको अवधिमा उपत्यकामा मात्र करिब १३ करोड मूल्यबराबरको तरुलको व्यापार भएको छ । नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघका अनुसार ६ दिनको अवधिमा (पुस २५ गतेदेखि ३० गतेसम्ममा) झण्डै १३ करोड भन्दा बढी मूल्य बराबरको करिब एक हजार टन विभिन्न प्रकारका तरुलको कारोबार गरिएको छ ।

‘गत वर्षभन्दा यो वर्ष दुई करोडभन्दा बढी मूल्यबराबरको कारोबार हुँदैछ’, महासंघका अध्यक्ष खोमप्रसाद घिमिरेले भने, ‘अघिल्लो वर्ष केही सीमित बजारबाट १२ करोड मूल्यबराबरको तरुल बिक्री भएको थियो । तर, यो वर्ष बजार थपिएको छ । यो वर्ष थप एक करोड मूल्यबराबरको बढी कारोबार हुँदैछ ।’

उनका अनुसार पछिल्लो ४ र ५ वर्षयता तरुलको व्यापार निकै फस्टाएको छ । पहिले नरुचाउने उपभोक्ता पनि स्वास्थ्यका लागि लाभदायक मानिने भएकाले खान पल्केका छन् । यसले गर्दा कारोबार ह्वात्तै बढेको हो । उपत्यकामा हुने तरुलको कुल कारोबारमध्ये ९५ प्रतिशत स्वदेशी र पाँच प्रतिशत भारतको उत्तर प्रदेशबाट आयातीत तरुलको हिस्सा छ ।

बजारमा अत्यधिक महँगो मानिएको वन तरुलसहित घर तरुल, हात्तिपाइले तरुल, रातो पत्ताले तरुल, मुढे तरुल, सिमल तरुल, पानी तरुल, सर्लाही तरुललगायत बजारमा उपलब्ध छ।

यो वर्ष पनि धादिङ, नुवाकोट, दोलखा, चितवन, काभ्रे, मकवानपुर, सर्लाही, तनहुँ, पाल्पा, स्याङजा, गोरखा, नवलपरासी, पर्वत, ललितपुरलगायत जिल्लामा उत्पादन भएका १३ प्रकारका तरुल भित्र्याइएको छ ।

व्यवसायीका अनुसार बजारमा अहिले बन तरुल बाहेक अन्य सबै प्रकारका तरुल प्रतिकिलो ५० देखि ८० रुपैयाँमा बिक्री भइरहेका छन् ।

मोफसलका बजारमाहरुमा पनि तरुलको माग बढेको छ । मोफसलका बजारमा तरुल र सखरखण्डको माग बढेको व्यापारीहरुको भनाई छ । संक्रान्तिले तरुल र सखरखण्डमा माग बढाएको हो ।