छिन्ताङ घटनामा मारिएका १६ जनालाई सहिद घोषणा गर्ने निर्णय

1065
views

काठमाण्डौ, २८ पुस । सरकारले खोकु छिन्ताङ घटनामा मारिएका १६ जना व्यक्तिलाई शहीद घोषणा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले २०३६ साल कात्तिक २७ गते भएको उक्त घटनामा मारिएकाहरुलाई शहीद घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए ।

पञ्चायती व्यवस्थाको विपक्षमा तथा प्रजातन्त्रको पक्षमा संलग्न भएको आरोपमा तत्कालीन राज्यसत्ताले दमन गरी होनहार व्यक्तिको ज्यान लिएको घटनालाई छिन्ताङ हत्या काण्ड भनिँदै आएको छ ।सरकारले न्याय सेवाको विशिष्ट श्रेणी (मुख्य रजिष्टार) मा सोही सेवाका रजिष्टार महेन्द्रनाथ उपाध्यायलाई पदोन्नति गर्ने निर्णय पनि गरेको छ । बैठकले पुनरावेदन समितिको अध्यक्षमा हेमराज पन्तलाई नियुक्ति गर्ने गरेको छ ।

बैठकले लाइभ स्टक सेन्टर इनोभेसन आयोजनाका लागि विश्व बैंकबाट प्राप्त हुने रु आठ अर्ब ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको पनि मन्त्री बस्नेतले जानकारी दिए । सरकारले आगामी वैशाख १ देखि आर्थिक गणना गर्न २०७५ सूचित आदेश जारी गर्ने निर्णय पनि गरेको छ । मन्त्रिपरिषद्ले नेपाली सेनाका उपरथी गौरव तण्डुललाई रथी दर्जामा स्थानीय बढुवा गरी युन फोर्स कमाण्डरमा प्रतिस्पर्धा गर्न स्वीकृत दिने निर्णय गरेको छ । प्राविधिक महासेनानी गेहेन्द्रराज महर्जनलाई सहायक रथीमा बढुवा गरिएको छ ।