जाजरकोट भाइरल प्रकरणः १३ को मृत्यु एकहजार सातसय ५५ जनाको उपचार

750
views

जाजरकोट, ३०, पुस । जाजरकोटको दुर्गम गाउँ जुनीचाँदे गाउँपालिकाका बड्कुले, मौगान, डाँडाकोट, आली, बेसीपाटा, रावलगाउँ, कोर्ताङ, पराले, मजकोट, भैरवटोल, स्यालामा भाइरल प्रकोप बढ्दो छ । तीनसाता वित्दा पनि प्रकोप नियन्त्रणमा ल्याउन निकै कठिनाई परेको छ ।

जाजरकोटमा हालसम्म १३ जनाले ज्यान गुमाएको स्वास्थ्यर्कीले बताएका छन् । एक हजार सात सय ५५ जनाको त उपचार भइसकेको छ । यद्यपि, जिल्ला स्वास्थ्यले भाइरलले नभई दीर्घरोग र चिसोले ज्यान गएको दाबी गरेको छ । भाइरलकै लक्षण देखिएर तीन जनाको ज्यान गएको जिल्ला स्वास्थ्य प्रमुख रामबहादुर नेपालीको भनाइ छ ।

रुघाखोकी, ज्वरो र निमोनियाले थलिएका वडा नं २, मौगानाका ३६ दिने शिशु भूपेन्द्र नेपालीको निमोनियाविरुद्धको खोप अभावमा ज्यान गएको थियो । सरकारले औषधि र स्वास्थ्यकर्मी प्रभावित क्षेत्रमा पर्याप्त खटाएको बताइरहेका बेला स्थानीयले भने अपर्याप्त र अपुग भएको गुनासो गरेका छन् । सरकारी स्वास्थ्य संस्था र निःशुल्क औषधिप्रति अविश्वासका कारण बिरामी निजी मेडिकल वा धामी–झाँक्रीकोमा जाने गरेको स्थानीय सुरेन्द्र सिंहले बताए ।

प्रकोप र महामारी फैलिएको बेला सरकारी र गैरसरकारी निकाय केही जागरुक देखिने गरेपनि केही समयपछि स्वास्थ्य सेवा सुधारका लागि खासै पहल नहुनले बर्सेनी रोग बल्झिने गरेको छ । अत्यधिक चिसोका कारण पनि रोग फैलिने अर्को कारण बनेको छ । तापक्रम नबढेसम्म केही दिन भाइरल रहन्छ तर तातो बढ्नेबित्तिकै विस्तारै कम हुँदै जाने चिकित्सकको भनाइ छ । जाजरकोटमा फैलिएको भाइरलको प्रकोपलाई सरकारले गम्भीर रूपमा नलिएको स्थानीयको आरोप छ ।