नुवाकोटमा ३८ हल गोरुको घम्साघम्सी

1197
views

रिना खनाल । नुवाकोटमा किसानले पालेका ३८ हल गोरु जम्मा गरी माघे सङ्क्रान्ति पर्वको अवसरमा गोरुको घम्साघम्सी प्रतियोगिता गरियो । नुवाकोटको तीन स्थानमा ३८ हल गोरु जुधाउने प्रतियोगिता गरिएको थियो । यहाँ ऐतिहासिक, धार्मिक र सामरिक महत्व बोकेका स्थान तारुका, बेत्रावती र पञ्चकन्यामा गोरु जुधाई प्रतियोगिताको आयोजना गरिएको थियो । गोरु जुधाई मेलामा किसानले पालेका ३८ हल गोरु प्रतिस्पर्धा गराउन ल्याइएको थियो ।

‘तारुकाको पौरख, नेपालको गौरव’ नारासहित तार्केश्वर गाउँपालिका–३ तारुकाको चन्दनीबारीमा २० हल गोरु जुधाउन लागिएको माघे सङ्क्रान्ति गोरु जुधाई संरक्षण संस्थाका अध्यक्ष शिवबहादुर अधिकारीले जानकारी दिए । नुवाकोटको बुधसिङ, तारुका, धादिङको खाल्टे, कल्लेरी र धुवाकोटका किसानले पालेका गोरु जुधाउन दर्ता गरेका थिए ।

प्रतिस्पर्धामा विजेता गोरुधनीलाई रु पाँच हजार र उपविजेतालाई रु तीन हजार नगदसहित प्रमाणपत्र प्रदान पाएका छन् । “बझाङ्गी राजा विक्रमबहादुर सिंहको छोरा जयपृथ्वीबहादुर सिंह तारुकास्थित मामाघर आउँदा विसं १८८७ मा गोरु जुधाएर मनोरञ्जन दिएकाले २०६२ सालदेखि गोरु जुधाई प्रतियोगितालाई महत्व दिन थालिएको स्थानीयवासी एवं प्रतिनिधिसभा सदस्य नारायणप्रसाद खतिवडाको भनाई छ ।

बेत्रावतीमा दश हल गोरु जुधाइयो
मकरसङ्क्रान्ति पर्वको अवसरमा नुवाकोट र रसुवाको संगमस्थल बेत्रावतीमा पनि दश हल गोरु जुधाइएको थियो । विदुर नगरपालिका–१० बेत्रावतीमा नुवाकोट र रसुवाका किसानले पालेका १० हल गोरु जुधाई प्रतियोगितामा दर्ता भएको आयोजक गोसाइँकुण्ड युवा क्लबका अध्यक्ष सुरज लबटले जानकारी दिए । प्रतिस्पर्धामा विजेता गोरुको धनीलाई रु तीन हजार र उपविजेतालाई रु दुई हजार ५०० नगदसहित सम्मानपत्रले सम्मानित भएका छन् ।

नेपाल र भोटबीच भएको युद्धअन्तर्गत विसं १८४९ मा भएको बेत्रगंगाको नदी किनारमा भएको व्यापारिक सन्धिपछि नेपाली पक्षको जितको उत्सवमा तत्कालीन समयमा गोरु जुधाएको स्मरणमा सामरिक महत्व कायम राख्न जोरु जुधाईलाई निरन्तरता दिएको क्लबका अध्यक्ष लबटको भनाइ छ । बेत्रावतीमा २०६७ सालदेखि गोसाइँकुण्ड युवा क्लबको पहलमा व्यवस्थितरुपमा गोरु जुधाउन थालिएको हो ।

पञ्चकन्यामा आठ हल गोरुको प्रतिष्पर्धा
माघेसङ्क्रान्ति पर्वको अवसरमा आज नै नुवाकोटको पञ्चकन्या गाउँपालिका–३ पञ्चकन्याको पीपलडाँडामा पनि ८ हल गोरु जुधाउन लागिएको छ । नवप्रतिभा युवा समूहको आयोजना नुवाकोटको विभिन्न स्थानका किसानले पालेको गोरु जुधाउन लागिएको समूहका अध्यक्ष शिवहरि विष्टले जानकारी दिए ।

गोरु जुधाउन थप्रेक, समुन्द्रादेवी, पञ्चकन्या, भद्रुटार र महाकालीका किसानले सहभागी हुन आफ्नो गोरुको नाम दर्ता गराएका छन् । प्रतियोगितामा प्रथम हुने गोरुको धनीलाई रु १० हजार र दोस्रोलाई रु सात हजार नगद पुरस्कार प्रदान गर्न लागिएको आयोजकले जनाएको छ । यहाँ विसं २०७२ देखि जनकल्याण युवा समाजको सक्रियतामा नवप्रतिभा युवा समूहमार्फत गोरु जुधाई मेला चल्दै आएको छ ।