नुवाकोट पञ्चकन्या गोरु जुधाई प्रतियोगितामा थापाको गोरु पहिलो

1190
views

रिना खनाल
नुवाकोट, १ माघ । माघे संक्रान्तिको अवसरमा नुवाकोटको पन्चकन्या गाउँपालिकाको घले भञ्ज्याङ्मा गोरु जुधाइ प्रतियोगितामा आठ हल गोरुको घम्साघम्सी भएको थियो ।सदरमुकाम विदुरबाट ३० किलोमिटर टाढा साबिक पन्चकन्यामा प्रत्येक वर्षको माघे संक्रान्तिका दिन ऐतिहासिक महत्व बोकेको गोरु जुधाई मेला गरिदै आएको छ । यो जुधाइ तीन बर्ष देखि चलाइदै आइएको छ ।

प्रतियोगितामा नेपाली काँग्रेसका युवा नेता रामेश्वर थापाले पर्व र पर्वमा गरिने संस्कारको विकासले समाज र जिल्लाको पहिचान बढ्नुको साथै गाउपालिकाको विकासमा सहजता भई बिश्वसामु परिचित गर्न सफल हुने बताए ।

परापुर्बकालमा घले राजाले राज्य गरिएको र यहाँको धार्मिक तथा ऐतिहासिक स्थानको प्रचार प्रसारमा कमि रहेको कारणले यहाँ गोरु जुधाई प्रतियोगिताको संचार माध्यममा समेत प्रचारप्रसार नभएको पर्यटन तथा युवा नेता राम थापाको भनाई थियो ।

‘यो तेश्रो पटक गरिएको जात्रा हो । यो स्थान पर्यटकिय स्थलको रुपमा लैजानको लागि प्याराग्लाइडिङ्गको सम्भाब्यताको अध्ययन भएको समेत थापाको भनाई छ । गोरु जुधाइ मेला हेर्नका लागि माघ १ गते सर्वसाधारणको बाक्लो उपस्थिति रहेको थियो ।

पहिले विभिन्न गाविसमा पनि गोरु जुधाइने गरिन्थ्यो तर हाल तारुका, वेत्रावति र घले भञ्ज्याङ मात्र गोरु जुधाइन्छ । प्रतियोगितामा कृषक डेल बहादुर थापा उनको (१ घन्टा ६ मिनेट) प्रथम, साबिक ४ का तेज बहादुर थापा (११ मिनेट )जुधेर दोस्रो, राज कुमार थापाका गोरु ३ मिनेट जुधेर तितृय स्थानको पुरस्कार र प्रमाण पत्र प्राप्त गर्न सफल भएका थिए । उनीहरुले क्रमशः १० हजार, ७ हजार र ३ हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गर्न सफल भएको नब प्रतिभा युवा समाजका अध्यक्ष शिबहरि बिष्टले जानकारी दिए ।