चिसो थेग्न खरपातको आगो ताप्छन् सप्तरीवासी

थप तीनको मृत्यु, मृतकको संख्या १९ पुग्यो

833
views

सप्तरी । सप्तरीका स्थानीयवासीले चिसो थेग्नका लाथि खरपात र टायलको आगो बाल्ने गरेका छन् । उनीहरुले दाउराको अभावले खरपात बाल्न थालेका हुन् । सप्तरीमा चिसो र शीतलहरका कारण कठ्यांग्रिएर थप तीन जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या १९ पुगेको छ । सप्तरीमा चिसो हावा चल्ने क्रम नरोकिएपछि शीतलहरको प्रभाव कायमै रह्यो । सप्तरी जिल्ला प्रहरीले कठ्यांग्रिएर थप तीन जनाको मृत्यु भएको पुष्टि गरेको छ । सप्तरीका निमित्त प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ध्रुवकुमार श्रेष्ठका अनुसार पछिल्लो पटक तिरहुत–४ की ६० वर्षीया जलेश्वरीदेवी साह, सुरुंगा नगरपालिका–१० का बुदिलाल मुखिया र कञ्चनरुप नगरपालिका–३ का ६० वर्षीया कलियादेवी सदाको मृत्यु भएको हो ।

प्रहरीले चिसोबाट जोगिन एक सयभन्दा बढी ठाउँमा आगो बाल्ने व्यवस्था मिलाइदिएको छ। जिल्ला दैवी प्रकोप उद्धार समितिले १३ हजारभन्दा बढी कम्बल वितरण गरेको छ । विभिन्न संघसंस्था तथा व्यक्तिले पनि राहत वितरणलाई निरन्तरता दिएका छन् ।