राजधानी माग्दै क्षेत्रीय प्रशासनमा तालाबन्दी

650
views

धनकुटा, ३ माघ । प्रदेश नं. १ को अस्थायी राजधानी धनकुटा तोकिनुपर्ने माग राख्दै बुधवार पूर्वाञ्चल क्षेत्रीय प्रशासन कार्यालय घेराउ गर्न पुगेका आन्दोलनकारीले कार्यालयमा तालाबन्दी गरेका छन् ।

आन्दोलनकारी र सुरक्षाकर्मीबीच घम्साघम्सी हुँदा एक जना घाइते समेत भएका छन्। सुरक्षाकर्मीले आन्दोलनकारीलाई गेटमा रोक्न खोजेपछि सामान्य घम्साघम्सी भएको थियो। धनकुटा नगरपालिका वडा नं ६ का जेशिस श्रेष्ठ घाइते भएका हुन् । टाउकोमा चोट लागेका श्रेष्ठको जिल्ला अस्पताल धनकुटामा उपचार भएको थियो ।

मुलगेटमा सुरक्षाकर्मीको घेरा तोडेर कार्यालयको परिसर पुगेका आन्दोलनकारीले क्षेत्रीय प्रशासक राजेश्वरमान सिंहविरुद्ध नाराबाजी गरेका थिए । क्षेत्रीय प्रशासक उपस्थित नभए पनि कार्यालयमा तालाबन्दी गरिएको आन्दोलन संघर्ष समितिका संयोजक सुन्दरबाबु श्रेष्ठले बताए ।

प्रदेससभा सांसद निरन राई र ईन्द्रमणी पराजुलीको नेतृत्वमा गएको आन्दोलनकारीले क्षेत्रीय प्रशासन कार्यालयमा तालाबन्दी गरेका हुन्। पर्याप्त भौतिक पूर्वाधार र सरकारी जग्गा रहेको धनकुटालाई अस्थायी प्रादेशीक राजधानी बनाउनुपर्ने माग राख्दै विगत ३३ दिन देखि धनकुटबासी आन्दोलित छन् । विभिन्न दवावमूलक आन्दोलन गर्दै आइरहेका धनकुटावासीले बुधवारदेखि अनिश्चितकालीन आमहड्ताल सुरु गरिएको संयोजक श्रेष्ठले बताए ।

धनकुटालाई प्रादेशीक राजधानी नबनाइन्जेलसम्म आन्दोलन जारी रहने उनले बताए । आमहड्तालले धनकुटाका बजार पसल, शिक्षण सस्था, वित्तीय संस्था, उद्योग व्यवसाय बन्द छन् । कोशी राजमार्गमा यातायात साधन गुडेका छैन । जसको कारण कोशी पहाडका धनकुटासहित भोजपुर, संखुवासभा र तेह्रथुमको जनजीवन प्रभावित बनेको छ ।

बन्दको अवज्ञा गरेको भन्दै आन्दोलनकारीले बुधवार बिहान मोटरसाइकल तोडफोड गरेका छन्। संखुवासभाको सभापोखरीबाट धरानतर्फ जाँदै गरेको चन्द्र राईको को २६ प ५६११ को नम्बरको पल्सर वाइक आन्दोलनकारीले कोशी राजमार्गको आत्माराको सडक खण्डमा तोडफोड गरेका हुन् ।