नेपालका प्रधानसेनापति श्रीलङ्काको औपचारिक भ्रमणमा

666
views

काठमाण्डौ, ३ माघ । प्रधानसेनापति महारथी राजेन्द्र क्षत्री मित्रराष्ट्र श्रीलङ्काका सेना प्रमुखको औपचारिक निमन्त्रणामा मित्रराष्ट्र श्रीलङ्का जानुहुने भएको छ ।

भ्रमणको दौरानमा उहाँले श्रीलङ्काका राष्ट्रपति, प्रधानमन्त्री, रक्षा राज्यमन्त्रीलगायत स्थल, जल तथा हवाई सेना प्रमुखसँग भेटघाट गर्नुहुने जनाइएको छ । सोही क्रममा उहाँले महत्वपूर्ण कमाण्ड हेडक्वार्टरहरुको समेत निरीक्षण भ्रमण गर्नुहुने कार्यक्रम रहेको छ ।

भ्रमण अवधिभर प्रधानसेनापतिको अनुपस्थितीमा बलाधिकृत रथी पूर्णचन्द्र थापाले कायम मुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्नु हुनेछ । भ्रमण सम्पन्न गरी प्रधानसेनापति महारथी राजेन्द्र क्षेत्री यहि माघ ११ गते स्वदेश फिर्ता हुनुहुने कार्यक्रम रहेको छ ।

उच्च सैनिक नेतृत्व तहको भ्रमणबाट दुई देशबीच लामो समयदेखि रहँदै आएको सुमधुर मैत्रीपूर्ण सम्बन्ध थप मजबुत हुनुको साथै नेपाली सेना तथा श्रीलङ्का सेनाबीचको आपसी सहयोग तथा सद्भाव अरु प्रगाढ हुन जाने विश्वास नेपाली सेनाले लिएको छ ।