डोटीमा प्रधानमन्त्रीको पुत्ला दहन, प्रदेश राजधानीको माग

899
views

डोटी, ४ माघ । सरकारले प्रदेश नम्बर ७ को अस्थायी राजधानी धनगढी तोकेसँगै डोटीमा आन्दोलन सुरु भएको छ । बिहानैदेखि आन्दोलनकारी सरकारको विरुद्धमा नाराबाजी गर्दै सडकमा उत्रेका छन् । सडक पूर्णरुपमा बन्द गराएका छन् भने प्रदेश नम्बर ७ का पहाडी जिल्ला प्रवेश गर्ने नाका डोटीको बुडरमै बन्द गराएका छन् । आन्दोलनकारीले दिपायलस्थित क्षेत्रीय प्रशासनको कार्यालय घेराउ गरेका छन् ।

सरकारको निर्णयको विरुद्धमा डोटीस्थित क्रियाशील राजनीतिक दलका नेता तथा कार्यकर्ता, नागरिक समाज निजी क्षेत्रका व्यक्तिहरु सडकमा आएका छन् । निर्णयको विरोधमा आन्दोलनकारीद्वारा प्रधानमन्त्री शेरबहादुर देउवा, भीम रावल, लेखराज भट्टलगायत नेताको पुतला समेत जलाइएको छ । सरकारको निर्णय तत्काल परिवर्तन गरेर राजधानी दिपायल कायम नगरिए पहाडी ७ वटा जिल्लाको छुट्टै राज्यको मागका साथ कडा आन्दोलनमा उत्रिने आन्दोलनकारीले बताएका छन् । सरकारको निर्णयप्रति आपत्ति जनाउँदै नेपाली कांग्रेसका नेता रामप्रसाद उपाध्याय, नेकपा एमालेका जिल्ला अध्यक्ष चक्रबहादुर मल्लले आन्दोलनबाटै निर्णय फिर्ता गर्न लगाइने बताए ।

शव यात्रा 
सरकारले प्रदेशको राजधानी धनगढी स्थापना गरेको विरोधमा प्रधानमन्त्री शेरबहादुर देउवाको विरोध गरिएको छ । विरोधमा नेपाली कांग्रेसको पार्टी कार्यालय परिसरमा देउवा दम्पतीको पुतला बनाई शव यात्रा निकालिएको छ । शव यात्राको नाम दिइएको र्¥याली नगर परिक्रमा गरी जिल्ला प्रशासन कार्यालय आगाडि गइ कोण सभामा परिणत हुने र पुत्ला दहन गरिने आन्दोलनकारीले बताएका छन् ।

डोटी कांग्रेसीद्वारा पार्टी सदस्यता परित्याग
सरकारले प्रदेश नम्बर ७ को राजधानी धनगढी तोकेसँगै आफ्नो पार्टीको विरोधमा डोटी कांग्रेसका नेता तथा कार्यकर्ताले सामुहिकरुपमा पार्टी सदस्यता परित्यागको घोषणा गरेका छन् । नेपाली कांग्रेस डोटीको कार्यसमितिको बैठक बसी सरकारमा नेपाली कांग्रेस भएकाले प्रादेशीक राजधानी डोटी नबनाएकोमा दुःख व्यक्त गर्दै यस्तो निर्णय गरेका हुन् ।

राष्ट्रिय सभा निर्वाचन बहिस्कार
प्रदेश नम्बर ७ को माघ २४ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचन सरकारले डोटीमा हुने निर्णय गरेको भएपनि प्रदेशको राजधानी डोटीमा कायम नगरिएका कारण कुनै हालतमा पनि उक्त निर्वाचन हुन नदिने बताइएको छ । त्यसैगरी डोटीका स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरु समेत आन्दोलनमा उत्रेका छन् । उनीहरुले आन्दोलनमा आफ्नो ऐकेबद्धता रहेको भन्दै पदबाट समेत राजीनामा दिन तयार रहेको बताएका छन् ।