‘बनाउनेमा जोड छैन् बन्नेमा होड’ –घिमिरे

698
views

काठमाण्डौ, ५, माघ । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले चुनावमा पराजित पार्टीलाई एकनम्बर बनाउनुपर्नेमा कसैको जोड नभएको तर आफु कसरी बन्ने भन्नेमा होड चलेको बताए । घिमिरेले नेपाली कांगेसलाई आन्तरिक रुपबाट कसरी सुधार गर्ने भन्ने विषयमा केन्द्रिय समितिमा छलफल भएको पनि बताएका । उनले आगामी दिनमा देखापर्ने चुनौतिको सामना गर्न सक्ने कांग्रेस कसरी बनाउने भन्ने विषयमा छलफल केन्द्रित भएको बताए ।

“अहिलेको अन्यौल र छटपटीबाट कार्यकर्तालाई कसरी मुक्त बनाउने र समग्र रुपमा पार्टीलाई अहिलेको संकटबाट कसरी मुक्त गराउने भन्ने विषयमा छलफल भएको छ ।” घिमिरेले भने ।केन्द्रिय सदस्यहरुले पार्टीको पराजयको दोष सबै सभापति शेरबहादुर देउवाले लिनुपर्छ भन्ने कुरा नभै नेतृत्व लिएको नाताले जस र अपजसको भागिदार हुनुपर्छ भन्ने कुरा गरिएको घिमिरेले बताए ।

कतिपय कामहरु शीर्ष नेताहरुका बिचको सहमतिमा हुने गरेको र त्यस्ता सहमति विधान विपरितसमेत गरिएकाले त्यस विषयमा ध्यानाकर्षण गराइएको उनले बताए ।

विधान विपरित गठन गरिएको संसदीय बोर्ड र कार्यसम्पादन समिति विघटनको माग केन्द्रिय सदस्यहरुले गरेको उनले जानकारी दिए ।हिजो बसिएको केन्द्रिय समितिको बैठकको मूल एजेण्डा राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि भए पनि अन्य विषयहरु उठान भएको उनले बताए ।

केन्द्रिय समितिमा हारको बारेमा व्यापक समिक्षा गरेर महासमिति बैठक बोलाएर विधान सशोधन गर्नुपर्ने अहिलेको आवश्यकता रहेको घिमिरेले बताए । राष्ट्रियसभा निर्वाचनका लागि अहिलेसम्म अवसर नपाएका तर पार्टीमा योगदान दिएकाहरुलाई उम्मेदवार बनाउनुपर्नेमा घिमिरेले जोड दिएका छन् । “साधुलाई सुली चोरलाई चौतारो गर्नु भएन ।” घिमिरेले भने ।