काँग्रेस केन्द्रिय समितिको बैठकले गर्यो चुनावको सामान्य समिक्षा

602
views

काठमाण्डौ, ६ माघ । नेपाली काँग्रेस केन्द्रिय समितिको बैठक ३ बुँदे निर्णय गर्दै सम्पन्न भएको छ । राष्ट्रिय सभाको चुनावका बिषयमा केन्द्रित रहने बताइएको बैठक चुनाव पछि पहिलो पटक बसेका कारण चुनावको सामान्य समिक्षामा पनि केन्द्रित रहेको थियो ।

प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवाले बैठकको बिट मार्दै आफूमाथि खनिएका नेताहरुलाई कडा जवाफ दिएका छन् । काँग्रेस स्रोतका अनुसार युवा नेता गगन कुमार थापालाई नेतृत्वको विरुद्धमा बाहिर जथाभावी बोल्नुभन्दापनि पार्टीको पद्धती अनुसार चल्न सुझाव दिएका छन् ।

बैठकमा सहभागी नेताहरुका अनुसार निकै चर्काचर्कीसम्म भएको उक्त वैठकमा पार्टी नेतृत्वको खुलेरै आलोचना समेत भएको थियो । यति हुँदाहुँदै पनि पार्टीले चुनावको समिक्षा गरेर एक महिनाभित्र केन्द्रीय समितिमा पठाउन मातहतका सबै निकायहरुलाई निर्देशन दिने निर्णय गरेको छ ।

सभापति देउवाले पार्टीले हालै व्यहोरेको हारको बारेमा आफूलाई मात्रै एकतर्फी रुपमा दोषारोपण गर्नुभन्दा विगत फर्किएर हेर्न आग्रह गरेका थिए । उनले आफूले निर्वाचन हुनुभन्दा धेरै अगाडि नै माओवादीसँग ६० र ४० गरौं भन्दा नमान्ने तपाईहरु नै हो भन्दै बरिष्ठ नेता रामचन्द्र पौडेल र गगन थापाको नाम नै उच्चारण गरेका थिए ।

उनको भनाई उद्धृत गर्दै एक नेताले भने,‘लौ, माओवादीसँग त चुनावमा सहकार्य भएन भएन, तर मधेशवादी दलहरुसँग मिलेर जाऔं भन्दापनि हुँदैन भनेर चिच्याउने र मेरो प्रस्ताव रिजेक्ट गर्ने तपाईहरु नै हो, अहिले आएर ठूला ठूला कुरा गर्ने, सडकमा गएर चिच्याउने यो के ताल हो ?’

देउवाले नेता पौडेल र गगनलाई ईंगित गर्दै भने,‘टिकट तपाईहरुले लिनुभयो, तपाईहरुले नै टिकट दिएका साथीहरुले चुनाव हार्नुभयो ? संसदीय दलभित्र सहमतिमै बसेर टिकट वितरण गरेको होईन ? अहिले आएर दोष सभापतिलाई मात्रै थोपर्न खोज्नु राम्रो होईन ।’