काठमाण्डौ, ६ माघ । एमाले नेता सुवास नेम्वाङले एमाले र नेकपा (माओवादी केन्द्र)सँगको पार्टी एकता निष्कर्षमा पुगिरहेको बताउनुभएको छ । संघीय मामिला तथा कानून विभाग अनेरास्ववियुले ‘सत्ता हस्तान्तरण को वर्तमान गतिरोध तथा तीन तहको जनउत्तरदायी सरकारः अधिकार र कर्तव्य’ विषयमा गरेको अन्तक्र्रिया कार्यक्रममा उहाँले वाम गठबन्धन मिल्नुको कुनै पनि विकल्प नभएकाले चाँडै नै दुई पार्टी एक हुने बताउनुभयो ।
संविधानको गलत व्याख्या गरेर नयाँ सरकार गठनको गतिरोध हट्न नसकेको उल्लेख गदै उहाँले नेता नेम्वाङले भन्नुभयो, “संविधानको कमजोरीले नयाँ सरकार गठनमा अड्चन आएको भनेर व्याख्या गरियो । गतिरोध हट्नका लागि संविधानको कमजोरी छैन । हाम्रो कमजोरी हो ।”
संविधानसभाका पूर्वअध्यक्षसमेत रहनुभएका नेम्वाङले संविधानले अधिकार र कर्तत्वमात्र बाँड्ने भन्दै ती संविधानले दिएका अधिकार र कर्तत्वको परिपालन वुद्धि विवेक र क्षमताले नगर्दा अहिलेको नयाँ सरकार गठनमा गत्यारोध आएको बताउनुभयो ।
कार्यक्रममा माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले लोकतान्त्रिक मूल्यमान्यतालाई आत्मसात् नगर्दा नयाँ सरकारमा ढिलाइ भएको बताउनुभयो । नयाँ सरकारका लागि कानूनी जटिलता भए पनि फुकाउन सकिने भन्दै सरकारले परिमाणलाई सर्हष स्वीकार गर्न नसक्दा नयाँ सरकार गठनमा गतिरोध आएको बताउनुभयो ।