सिमामा एकधुर जमिन तल–माथि हुन पाउने छैनः प्रजिअ सिंह पर्सा

923
views

काठमाडौं, ७ माघ । पर्साकोे वीरगंज महानगरपालिका–१ छपकैयामा ५० बिगाहा जमिन मिचिएको विवादले उत्कर्ष रूप लिएपछि नापी विभागका निर्देशक स्तरको टोली छानविन र नापजाँचका लागि फिल्डमा पुगेको छ । मुख्य पिलर नम्बर ३९१ र ३९२ रहेको उक्त क्षेत्रमा ३९२ नम्बर मुख्य पिलरको सहायक पिलर निर्माणको क्रममा नेपाली नम्बरी, ऐलानी र प्रतिजग्गा भारततर्फ परेको स्थानीयले बताएका छन् ।

स्थानीयवासीका अनुसार पिलर नम्बर ३९२ को ६, ७ र ८ तथा २६ देखि २९ नम्बरको सहायक पिलर निर्माणको क्रममा खेलकुद मैदानसहित नेपालको भाग भारतमा पर्न गएको छ । वर्षौंदेखि भोगचलन गर्दै आएको जग्गामा एक्कासी भारततिर पर्ने गरी पिलर गाड्न थालेपछि स्थानीय रवीन्द्र महतो कोइरी र वीरगञ्ज महानगरपालिका–१ को वडा कार्यालयले जिल्ला प्रशासन कार्यालय पर्सामा रोक्का गरीपाऊँ भनी गत पुस ३० मा निवेदन दिएका थिए । सोही आधारमा जिल्ला प्रशासन कार्यालयको निर्देशनमा पिलर जडानको काम रोकिएको छ ।

नेपालको लगभग ५० बिगाहा जमिन सीमा–स्तम्भ मर्मतका क्रममा भारततर्फ परेको सार्वजनिक भएलगत्तै नापी विभागका निर्देशक अनिल मरासिनी नेतृत्वको टोलीे तथ्य बुझ्न वीरगञ्ज आइपुगेको हो ।

पर्साका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहका अनुसार ‘एकधुर जमिन पनि तल–माथि नहोस् भन्नेमा हामी सचेत रहेको बताए । यस आधारमा प्राविधिक रुपमा नक्साङ्कन मिले–नमिलेको अध्ययन गर्नकै लागि नापी विभागका निर्देशकसहितको टोली वीरगञ्ज आइपुगेको प्रजिअ सिंहले जानकारी दिए ।

नेपाल र भारतबीच उच्च स्तरीय सहमतिबाट सीमा क्षेत्रमा हराएका र क्षतिग्रस्त पिलर निर्माण र मर्मतको क्रम चलिरहेको छ । नेपालतर्फ सर्भे विभागको टोलीले काम गरिरहेको छ भने भारतमा एसएसबीले निर्माणको जिम्मा पाएको छ ।