बेल्जियमबाट क्याटलोनियाको शासन गर्न पाउनुपर्छ – पुज्डमोन

679
views

एजेन्सी/बार्सिलोना, ७ माघ । क्याटलोनियाको स्वतन्त्रता अभियान सञ्चालनको नेतृत्व गरेका कारण स्पेन सरकारले बर्खास्त गरेका क्षेत्रीय सरकारका पूर्वप्रमुख कार्लोस पुज्डमोनले निर्वासनमा रहेरै क्याटलोनियाको नेतृत्व सम्हाल्न सक्ने बताएका छन् ।

क्याटलोनियालाई स्पेनबाट अलग गर्ने र स्वतन्त्र राज्य घोषणा गर्ने अभियानको नेतृत्व गरेको आरोपमा पुज्डमोनलगायतका तत्कालीन सरकारका केही मन्त्रीलाई स्पेनले अक्टोबर २७ मा बर्खास्त गरेको थियो । बर्खास्तीसँगै उनीलगायत केही विखण्डनकारी नेता बेल्जियममा स्वघोषित निर्वासनमा छन् ।

‘क्याटलोनियाबारे मेरा दुई विकल्प छन् । पहिलो विकल्प भनेको स्पेन फर्किने र राज्यविद्रोह, कानुनको उल्लंघन र सार्वजनिक कोषको दुरुपयोग अभियोगमा पक्राउ पुर्जी जारी गर्ने प्रहरीसमक्ष आत्मसमर्पण गर्ने हो । जेलमा रहँदा मैले जनतालाई सम्बोधन गर्न, लेख्न वा भेट्न पाउँदिनँ,’ पुज्डमोनले भने, ‘दोस्रो विकल्प भनेको आफू स्वतन्त्र र सुरक्षित रहेर बेल्जियमबाटै क्याटलोनियाको नेतृत्व सम्हाल्ने ।’

निर्वासनमा रहेर पनि नेतृत्व सम्हाल्न सकिने तर्क प्रस्तुत गर्दै पुज्डमोनले भने, ‘आजभोलि नयाँ प्रविधिको प्रयोगबाट घरमै वा टाढा बसेर पनि ठूला व्यवसाय, शैक्षिक तथा अनुसन्धानका गतिविधि सञ्चालन गर्न सकिन्छ भने विदेशमा बसेर नेतृत्व सम्हाल्न किन नसक्ने ?’

स्पेनका प्रधानमन्त्री मारियानो राखोएले बेल्जियम निर्वासनमा रहेका क्याटलोनियाका विखण्डनकारी नेता पुज्डमोनले विदेशबाटै क्याटलोनियामा शासन गर्न खोजे केन्द्रले हस्तक्षेप गर्ने चेतावनी दिएका छन् ।

स्पेनको राजधानी म्याड्रिडमा आफ्नो दलका नेताहरूसँगको कुराकानीमा प्रधानमन्त्री राखोएले भने, ‘पुज्डमोन विदेशबाटै सत्ता नेतृत्व गरेको रवाफ दिएमा केन्द्र सरकारले गत अक्टोबरदेखि क्याटलोनियामा चलाएको प्रत्यक्ष शासन जारी राख्नेछ ।’

स्पेनी कानुनअनुसार क्षेत्रीय नेता वा प्रमुख निर्वा्चित हुन सिद्धान्ततः पुज्डमोनले संसद्को अधिवेशन वा नयाँ नेतृत्व चयन प्रक्रियास्थलमा भौतिक रूपमा उपस्थित हुनुपर्छ । तर, पुज्डमोनले आफूले प्रत्यक्ष भिडियोमार्फत वा मन्तव्य लेखेर आफ्ना कुनै प्रतिनिधिको सहयोगमा संसद्मा आफ्ना धारणा राख्ने बताएका छन् ।

राजद्रोह गरेको आरोप लगाउँदै स्पेनको अदालतले पुज्डमोनलगायतका नेताहरूलाई पक्राउ पुर्जी जारी गरेको छ ।