बार्सिलोना र रियाल मड्रिडलाई फराकिलो जित

721
views

काठमाडौं, ८ माघ । स्पेनिस लिग फुटबलमा गएराति बार्सिलोना र रियाल मड्रिडले फराकिलो जित हात पारेका छन् । लिग तालिकाको शीर्ष स्थानमा रहेको बार्सिलोनाले रियाल बेटिसलाई ५–० ले हरायो ।

बेटिसलाई उसैको मैदानमा पराजित गर्न बार्साका लियोनल मेस्सी र लुईस सुवारेजले दुई–दुई गोल गर्दा ईभाँ राकिटिचले एक गोल थपे । गएराति नै रियाल मड्रिडले डेपोर्टिभो लाकोरुनालाई ७-१ को भारी अन्तरले पराजित गर्यो ।

रियालका लागि क्रिश्चियानो रोनाल्डो, ग्यारेथ बेल र नाचो फर्नान्डेजले दुई–दुई गोल गर्दा लुका मोड्रिचले एक गोल थपे । ला लिगामा गएराति सेल्टा भिगोले रियाल सोसीडाडलाई २-१ ले हराउँदा आलाभेज र लेगानेजले २–२ गोलको बराबरी खेलेका छन् ।

गएरातिका खेलपछि ला लिगाको अंक तालिकामा २० खेलबाट ५४ अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा छ । समान खेलबाट ४३ अंक जोडेको एथ्लेटिको मड्रिड दोस्रो तथा ४० अंक जोडेको भ्यालेन्सिया तेस्रो स्थानमा रहेको छ । एक खेल कम खेलेको रियाल मड्रिड भने ३५ अंकका साथ चौथो स्थानमा समेटिएको छ ।