काबुल हमलामा १४ विदेशीसहित १७ को मृत्यु

811
views

एजेन्सी काबुल । अफगान सुरक्षा फौजले १२ घन्टाको संघर्षपछि राजधानी काबुलस्थित इन्टरकन्टिनेन्टल होटेललाई आफ्नो नियन्त्रणमा लिएको छ । शनिबार राति लडाकुहरूको एउटा समूहले कब्जामा लिएर अतिथिहरूलाई बन्धक बनाएको होटेललाई सेनाले आफ्नो नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिने क्रममा १४ विदेशीसहित १७ जना मारिएको आन्तरिक मन्त्रालयले जनाएको छ । सेनाले होटेलमा रहेका एक सय ६० जनाको उद्धार गरेको छ । सेनाले होटेललाई नियन्त्रणमा लिएको घोषणा गरिसकेपछि पनि आइतबार बिहान दोहोरो भिडन्त भएको जनाएको छ ।

मृतकको संख्या अझै बढ्न सक्ने अफगान समाचार संस्था टोलोले बताएको छ । होटेलभित्र दर्जनौँ शव रहेको एक पत्रकारको भनाइ उद्धृत गर्दै अन्तर्रा्ष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् । होटेलभित्र आफ्ना ४२ कर्मचारी रहेको अफगान एयरलाइन काम एयरले जनाएको छ । उनीहरूमध्ये केही विदेशी नागरिक हुन् । होटेलभित्र अझै केही हराइरहेको बताइएको छ ।

डिनर लिँदालिँदै हमला
आक्रमणकारी ६ तले होटेलमा शनिबार राति ९ बजे प्रवेश गरेका थिए । आक्रमणको समयमा आगन्तुकहरूले होटेलमा डिनर लिइरहेका थिए । अफगान टेलिकमका क्षेत्रीय निर्देशक तथा होटेलका पाहुनामध्येका एक अजिज तेइबका अनुसार आगन्तुकहरू सूचना प्रविधिसम्बन्धी सम्मेलनमा सहभागी हुन जाने क्रममा आक्रमणमा परेका थिए । ‘एकै क्षणमा ठूलो विध्वंश भएको थियो,’ उनले भने, ‘म पिलरको पछाडि लुकेँ । केही सेकेन्डअगाडि रमाइरहेका मानिसहरूको चित्कार मेरा कानमा गुन्जिए । आक्रमणकारीको गोली लागेर अधिकांश मानिस मेरै अगाडि ढलेका थिए,’ उनले भने ।

तन्नाको डोरी बनाएर झरे आगन्तुक
ग्रिनेड र अन्य साना हतियार बोकेका आक्रमणकारीले होटेलभित्र पसेर अतिथिलाई बन्धक बनाएका थिए । छैटौँ तलामा मकै भुटेकोजस्तो गोलीको आवाज सुनिएको पहिलो तलामा रहेका एक पाहुनाले बताए । आक्रमणपछि आफ्नो ज्यान जोगाउन अधिकांश पाहुनाले तन्नाको डोरीलाई बाल्कोनीमा बाँधेर तल झरेका थिए । झर्ने क्रममा चार तलामाथिबाट लडेर एक अतिथि सख्त घाइते भएका छन् । डाँडामा रहेको सो होटेलको छैटौँ तलाबाट धुवाँको कालो मुस्लो र आगोका लप्का निस्किएको फुटेज भिडियो अफगान टेलिभिजनले देखाएको छ ।

तालिवानले लियो जिम्मा
होटेल आक्रमणको जिम्मा अफगानिस्तानमा सशस्त्र युद्ध गरिरहेको तालिवान समूहले लिएको छ । आइतबार एक विज्ञप्ति जारी गरी तालिवानले सो जिम्मा लिएको हो । तालिवानले सो होटेललाई सन् २०११ मा पनि निसाना बनाएको थियो । सो हमलामा १० जना ‘विदेशी अतिक्रमणकारी र उनीहरूका खेलौना’ मारिएका थिए । तालिवानले सो इन्टरकन्टिनेन्टललगायत राजधानीका अन्य महत्वपूर्ण होटेलहरूमा पुनः हमला गर्ने चेतावनी दिँदै आएको थियो ।

हेलिकोप्टरको आकस्मिक अवतरण
अतिवादीले हमला गरेपछि अफगान सेनाको विशेष फौजको हेलिकोप्टर सो होटेलको छतमा आपत्कालीन अवतरण गरेको थियो । अतिवादीको बन्धक प्रकरण अन्त्य गर्न अफगान सेनाले पश्चिमी राष्ट्रका विशेष फौजको सहयोग लिएको थियो । अफगानिस्तानमा अझै पनि केही विदेशी सेना छन् । सेनाले उद्धार गरेकामध्ये ४१ जना विदेशी रहेको जनाइएको छ ।

उनीहरूमध्ये ७ जना घाइते भएको आन्तरिक मामिलासम्बन्धी मन्त्रालयले जनाएको छ । सुरक्षा घेरा तोडेर आक्रमणकारी सो होटेलमा पुग्न कसरी सफल भए भन्नेबारेमा मन्त्रालयले अनुसन्धान गर्ने जनाएको छ । दुई साताअघि एक निजी कम्पनीलाई होटेल सुरक्षाको जिम्मा दिइएको थियो । आक्रमणकारीहरू किचेनको पछाडिको ढोकाबाट होटेल पुगेका थिए ।

विद्युतीय धरापमा १८ लडाकु मारिए
तालिवान लडाकुले थापेको विद्युतीय धरापमा परेर अफगानिस्तानमा कम्तीमा १८ लडाकु मारिएका छन् । अफगानिस्तानको उत्तरी प्रान्त बाल्खअन्तर्गत पर्ने सोल्ग्रा जिल्लाको बोज्बोई गाउँमा भएको विद्युतीय धरापमा तालिवान लडाकु मारिएका हुन् ।

अफगान सेनालाई थापेको धरापमा भूलवश लडाकु परेको हुन सक्ने अफगान सरकारले जनाएको छ । मृत्यु भएका १८ जना नै विद्रोही समूहका स्थानीय सदस्य रहेका जिल्ला प्रमुख साराजुद्दिन अबिदले जानकारी दिए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । तालिवान लडाकुले घटनाको जिम्मेवारी लिएका छन् ।