एजेन्सी/वासिङ्टन । अन्तराष्ट्रिय समुदायले टर्कीलाई संयम अपनाउन आग्रह गरेका छन् । टर्कीले केही दिनअघि सिरियास्थित कुर्दिस लडाकुविरुद्ध स्थलगत आक्रमण सुरु गरेको थियो । अन्तर्रा्ष्ट्रिय समुदायले आक्रोशमा लिइएको निर्णय हानिकारक हुने जनाउँदै टर्कीलाई संयम अपनाउन आग्रह गरेका हुन् । आइतबार टर्कीले कुर्दिस लडाकुविरुद्ध ११ युद्धक विमानबाट हवाई आक्रमण गरेको थियो । यता, सिरियाले टर्कीले निर्दाेष नागरिकमाथि हमला गरेको आरोप लगाएको छ ।
फ्रान्स युद्धविरामको पक्षमा
राष्ट्रसंघसँगै फ्रान्सले पनि सिरियामाथि भएको आक्रमणको भत्र्सना गरेको छ । साथै, फ्रान्सले टर्की र कुर्दिस लडाकुबीच सम्झौता हुनुपर्ने बताएको छ । फ्रान्सले जतिसक्दो चाँडै युद्धविराम चाहेको विज्ञप्तिमा भनिएको छ । ‘टर्की र सिरियाली सरकारले सक्दो चाँडो युद्धविराम गर्नुपर्छ,’ फ्रान्सको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
यता, राष्ट्रसंघको सुरक्षा परिषद्ले टर्की र सिरियाबीचको पछिल्लो घटनाक्रमबारे आपत्कालीन बैठक बोलाएको अन्तर्रा्ष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता हिदर नउटले टर्कीलाई संयम अपनाउन आग्रह गरेका छन् । सर्वसाधारणको जीवनरक्षाका लागि पनि टर्कीले आक्रमण तत्काल रोक्नुपर्ने उनले बताए ।
लडाकुलाई धपाउने योजना
अन्तर्रा्ष्ट्रिय समुदाय र राष्ट्रसंघले आपत्ति जनाउँदा टर्किस सरकारले सिरियाबाट कुर्दिस लडाकु समूहलाई धपाउन आफूहरूले हवाई र स्थल आक्रमण गरेको दाबी गरेको छ । टर्कीको रक्षा मन्त्रालयका अनुसार टर्किस सैनिकहरू स्थलमार्गबाट सिरियाको उत्तरी क्षेत्र सिनाई प्रवेश गरेका छन् । सिनाई क्षेत्रको उत्तरमा टर्की र दक्षिणमा अफ्रिका पर्छ । दक्षिण अफ्रिकामा समेत कुर्दिस लडाकु समूहको बिगबिगी रहेको जनाइएको छ ।
गत महिना कुर्दिसलाई चेतावनी
टर्कीले गत महिना अफ्रिकी तथा सिरियामा रहेका कुर्दिस लडाकु समूहलाई आफ्ना गतिवधि रोक्न चेतावनी दिएको थियो । सिनाई क्षेत्रको पश्चिमतर्फ सय किमि टाढासम्म कुर्दिस समूह प्रवेश गर्न नपाउने चेतावनी टर्कीले दिएको छ ।
असफल वार्ता
सिरियामा जारी हिंसा अन्त्यका लागि राष्ट्रसंघले पटक–पटक दुईपक्षीय वार्ता प्रयास नगरेको होइन तर सबै वार्ता असफल भएका छन् । अमेरिका र रसियाकै अगुवाइमा समेत शान्तिवार्ता हुँदा पनि त्यो कार्यान्वयन हुन सकेन । १ जनवरीमा साउदी अरेबियाको आयोजनामा दुई पक्षबीच शान्तिवार्ता आयोजना गरिएको थियो । तर, त्यो वार्ता पनि सफल भएन ।
दुई विदेशमन्त्रीबीच वार्ता
टर्की र सिरियाबीचको समस्या सुल्झाउन पुनः एकपटक अमेरिकी विदेशमन्त्री रेक्स टिलरसन र रसियाली विदेशमन्त्री सेर्गेई लाभरोभबीच टेलिफोन वार्ता भएको अन्तर्रा्ष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् । सिरियामा विगत पाँच वर्षदेखि घरेलु हिंसा चलिरहेको छ ।
लामो युद्ध अन्त्यका लागि अमेरिका र रसियाले नै अविलम्ब उपाय निकाल्नुपर्ने विदेशमन्त्रीद्वयले जनाएका छन् । हिंसामा अहिलेसम्म चार लाख नागरिकको ज्यान गएको छ । हिंसा र असुरक्षाका कारण दशौँ लाख सिरियाली नागरिक छिमेकी मुलुकमा शरणार्थी जीवन बिताइरहेका छन् ।
सर्वसाधारण मारिएको आशंका
टर्कीले कुर्दिस लडाकुविरुद्धको आक्रमण जारी नै राखेको छ । टर्कीले हवाई र स्थल आक्रमण गरिरहँदा स्थानीय सर्वसाधारण मारिएको हुन सक्ने आशंका राष्ट्रसंघको सुरक्षा परिषद्ले गरेको छ ।
कुर्दिस विद्रोही लडाकुले पनि आक्रमणको प्रतिकार गरिरहेको छ । ‘हवाई आक्रमणमा सर्वसाधारणको मृत्यु भएको आशंका छ,’ सुरक्षा परिषद्ले जनाएको छ । कुर्दिस समूहलाई वाइपिजी नामक अतिवादी समूहले सहयोग गरिरहेको छ ।
सर्वसाधारणको जीवनरक्षा हुनुपर्ने
राष्ट्रसंघले टर्कीले आक्रमणका क्रममा सर्वसाधारण तथा निर्दोष व्यक्तिको ज्यान रक्षा गर्नुपर्ने जनाएको छ । आक्रमण सर्वसाधारणलक्षित गर्न नहुने राष्ट्रसंघको भनाइ छ । ‘कारबाहीका क्रममा सर्वसाधारणको ज्यान जाने गरी कुनै कारबाही नहोस्,’ राष्ट्रसंघले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सकेसम्म टर्कीले संयम अपनाउनुपर्छ, धैर्य अपनाउन हामी सरकारसँग आग्रह गर्छौं ।’
राष्ट्रसंघले सर्वसाधारण नागरिक हताहत हुन नदिन र निश्चित सीमामा रही विद्रोहीविरुद्ध लड्नुपर्ने सुझाब दिएको छ । ‘स्थानीय नागरिक हताहत हुन नदिनु र सो क्षेत्रमा रहेका कुर्दिस लडाकुविरुद्धको कारबाही सीमित समय र क्षेत्रभित्र हुनुपर्छ,’ राष्ट्रसंघले भन्यो ।